


काठमाडौँ — मोरक्कोमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ८ सय २० पुगिसकेको छ । साथै कम्तीमा ६ सय ७२ घाइतेको उद्धार गरिएको छ ।

![]()
अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शनिबार ६.८ म्याग्निच्यूडको भूकम्प भएको हो ।



भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय २० पुगेको छ भने हालसम्म ६ सय ७२ जना घाइते भएको को समाचारमा छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयले पनि मृत्यु हुने र घाइतेको संख्या पुष्टि गरेको छ ।

भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ ।
भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारको क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसस्थित सयौं मानिस लामबद्ध भएका छन् । रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानीय मिडियाले जनाएका छन् ।


यस्तै घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानको लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् । यद्यपि कतिपय मानिसहरू भत्किएका भवनहरूमा पुरिएर रहेको हुनसक्ने स्थानीय मिडियाले जनाएका छन् । -बीबीसी








