काठमाडौ – सेभ द चिल्ड्रेन र महिलाका लागि राष्ट्रसङ्घीय विकास कोष(युनिफेम) तथा लैङ्गिक समानताका लगि पुरुष सहभागिता सञ्जालद्वारा आयोजित नेपालको शान्ति निर्माण प्रक्रियामा पुरुषको लैङ्गिक न्यायमा हुनुपर्ने भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले महिलामाथि हुने हिंसामा ९५ प्रतिशत पुरुष दोषी पाइएको र ९९.५ प्रतिशत बलात्कारको घटनामा पुरुषको संलग्नता भेटिएको बताएका छन् ।
उनीहरुले पुरुषले महिलासँग सौहार्द्र व्यवहार गर्नुपर्ने, सरकार तथा सुरक्षा निकायले पनि महिलामाथि हुने हिंसात्मक घटनामा दोषी पाइएकामाथि कडा कारबाही गर्नु पर्ने, पीडित महिलालाई न्याय दिनुपर्ने बताए ।
सो अवसरमा शान्ति तथा पुनःनिर्माणमन्त्री रकम चेम्जोङले महिला र पुरुषबीच भेदभावरहित समान ब्यवहारको विकास गर्न सरकार नयाँ कार्ययोजना ल्याउने सोचमा रहेको बताउनुभयो ।
उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोग गठन गर्न सकेमा मात्र द्वन्द्व पीडित महिलालाई पनि न्याय दिलाउन सकिने उल्लेख गर्नुभयो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव रामप्रसाद भट्टराईले मन्त्रालयले समुदायस्तरमा १३ हजारभन्दा बढी महिलालाई तालिम दिएको चर्चा गर्दै स्वीकृत कार्यक्रम अनुसार यो वर्ष १०५ गाविसमा महिलालाई तालिम दिइने बताउनुभयो ।
युनिफेमका कार्यक्रम संयोजक सङ्गीता थापाले विश्वका एकसय ३० मुलुकमा महिला हिंसाविरुद्धको कानुन कार्यान्वयनमा रहेको जानकारी दिँदै महिला हिंसाका कारण उनीहरुमा मनोवैज्ञानिक, शारीरिक तथा जीवनभर अन्य जटिल प्रभाव पर्ने बताउनुभयो ।
अन्तराष्ट्रिय मानवअधिकार सञ्चार प्रतिष्ठान-हिरिकोन)का अध्यक्ष शोभा गौतमले सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयनमा पुरुष वर्गको महत्वपूर्ण भूमिका रहन्छ भन्दै संयुक्त राष्ट्रसङ्घको एक अध्ययनअनुसार विश्वमा ३० प्रतिशत महिला उनीहरुको पुरुष साथीबाट कुनै न कुनै किसिमको शारिरीक हिंसाको शिकार हुने गरेको जानकारी दिनुभयो ।
सेभ द चिल्डे्रनका कार्यक्रम संयोजक डा नीना खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा युनिफेमका कार्यक्रम संयोजक थापा र हिरिकोनका अध्यक्ष गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।