विशेष अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष समावेदन गर्न माओवादी लगायत नौ दल सहमत

नयाँ प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि एकीकृत नेकपा माओवादी  यहि साता संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष समावेदन गर्ने तयारीमा जुटेको छ। अधिवेशनका लागि माओवादीले आफ्ना सभाषद्हरुको हस्ताक्षर संकलन र अन्य दलहरुसँगको छलफललाई तीव्रता दिइरहेको छ।

 

मंगलबार साना सात दलसँग छलफल गरेको माओवादीले बुधवार आठ दलसँग छलफल गरेको छ। माओवादीले कांग्रेस र एमालेसँगको छलफललाई पनि तिव्रता दिने बताएको छ। सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बुधबार भएको छलफलमा संविधानको धारा एकाउन्नको तीन अनुसार व्यवस्थापिका संसदको विशेष अधिवेशन बोलाउन साना आठ दल सहमत भएका   छन्। छलफलमा सहभागि हुनुभएका माओवादी नेता नारायणकाजी श्रेष्ठले अन्य दलसँग छलफल गरेर सहमतिकै आधारमा अधिवेशन आह्वान गर्न पहल गरिने जानकारी दिनुभयो।
 
राष्ट्रपति समक्ष समावेदन गरे राष्ट्रपतिले पन्ध्र दिनभित्र अधिवेशन बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ। दलहरुबीच सहमति नभएपनि संविधानसभाका एक चौथाई सदस्यले समावेदन दिए अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।