ओबामा तथा चिनियां राष्ट्रपति हु जिन्ताओबीच इरानको आणविक कार्यक्रमबारे वार्ता

राष्ट्रपति बाराक ओबामा तथा चिनियां राष्ट्रपति हु जिन्ताओबीच इरानको आणविक कार्यक्रमबारे वार्ता भएको ह्वाइट हाउसले जनाएको छ।

अमेरिकी अधिकारीहरुले यसै साता केहीअघि इरानमाथि लगाइने संभाव्य नयां नाकाबन्दीहरुबारे गम्भीर छलफल गर्न चीन सहमत भएको जनाएका थिए।

यसैबीच इरानका मुख्य आणविक वार्ताकार सईद जलीली बेइजिङ आईपुगेका छन्।

इरानको आणविक कार्यक्रमलाई लिएर पश्चिमा मुलुकहरु र इरानबीच जारी विवादले कस्तो रुप लिनेछ भन्ने कुरा अब धेरैहदसम्म चीनमाथि भर पर्नेछ।

त्यसैले कूटनीतिक गतिविधिले गति लिएको हो।

यसै साताको शुरुमा राष्ट्रपति ओबामाले आउंदो केही साताभित्रै इरान विरुद्ध नयां नाकाबन्दीहरु लगाइयुन् भन्ने आफूले चाहेको बताएका थिए।

ओबामाले उनको सरकारी विमान एअरफोर्स वानमा सवार रहेकै बेला चिनियां राष्ट्रपतिसंग एक घण्टा फोनमा वार्ता गरेको ह्वाइट हाउसले जनाएको छ।

कुराकानीमा राष्ट्रपति ओबामाले इरानले आफूले विगतमा गरेको वाचा पुरा गर्नुपर्ने कुरामा जोड दिएका थिए।

फोन वार्ता

चिनियां अधिकारीहरुले सो फोन वार्ताबारे कुनै टिप्पणी गरेका छैनन्।

तर उनीहरुले राष्ट्रपति हुले चीन तथा अमेरिकाबीच स्वस्थ एवम् स्थिर सम्बन्धकालागि जोड दिएको जनाएका छन्।

images

राष्ट्रसंघ सुरक्षा परिषदमा भीटो शक्ति बोकेका पांच मुलुकहरुमध्ये चारवटाले इरानविरुद्ध नयां नाकाबन्दीहरु लगाउने पक्षमा सहमति जनाइसकेका छन्।

त्यसैले अब चीनको समर्थन जुटाउन अमेरिकाले कोसिस गरिरहेको छ।

images

अमेरिकी अधिकारीहरुले भनेका छन्, चीनले उ इरानविरुद्ध कडा नयां नाकाबन्दीहरु लगाउने विषयमा छलफल गर्न तयार रहेको जनाएको छ।

तर शायद चीनलाई नाकाबन्दीको पक्षमा जानबाट रोक्न इरानका मुख्य आणविक वार्ताकार सईद जलीली अहिले बेइजिङ पुगीसकेका छन्।

images

चिनियां अधिकारीहरुसंगको वार्तापछि जलीलीले चीन इरानविरुद्ध नाकाबन्दी लगाउने पक्षमा नरहेको दावी गरे।

जलीलीसंगको कुराकानीपछि बोल्दै चिनियां विदेशमन्त्रीले अझै पनि यो विवाद वार्ताद्वारा समाधान गर्नसकिनेप्रति आफू विश्वस्त रहेको बताएका छन्।

तर चीन अन्तत: आफ्नो अडानमा परिवर्तन गर्न तयार भएजस्तो देखिन्छ, र सईद जलीलीको बेइजिङ भ्रमण त्यसो हुनबाट चीनलाई रोक्ने इरानका लागि अन्तिम मौका पनि हुनसक्छ।