क्षेत्रीय तनावको समाधान सैन्य होइन कुटनीतिक हुनुपर्छः इरान र रुस

इरान र रुसले मध्यपूर्व तथा समग्र क्षेत्रीय समस्याहरूको समाधान सैन्य शक्तिबाट सम्भव नहुने भन्दै कुटनीतिक संवादलाई नै मुख्य माध्यम बनाउनुपर्नेमा जोड दिएका छन् । तेहरान भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँगको द्विपक्षीय वार्तापछि सोमवार आयोजित संयुक्त पत्रकार सम्मेलनमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सो धारणा सार्वजनिक गरेका हुन् । इरानी सरकारी समाचार संस्था इर्नाकाअनुसार दुई देशका विदेशमन्त्रीहरूबीच मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्था, द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका विविध आयामबारे विस्तृत समीक्षा भएको थियो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै इरानी विदेशमन्त्री अराघचीले फारसको खाडी तथा होर्मुज जलडमरूमध्य क्षेत्रमा देखिएको असुरक्षा अमेरिकी र इजरायली सैन्य आक्रामकताको प्रत्यक्ष परिणाम भएको दाबी गर्नुभयो । उहाँकाअनुसार फेब्रुअरी २८ देखि शुरु भएको उक्त हस्तक्षेप विभिन्न स्वरूपमा निरन्तर जारी छ । वार्ताका क्रममा दुवै देशले वासिङ्टनको ‘युद्धपिपासु एकपक्षीयता’ को कडा विरोध जनाएका छन् ।

विदेशमन्त्री अराघचीले विश्वव्यापी रूपमा बहुपक्षीयतालाई सुदृढ बनाउन र अन्तर्राष्ट्रिय कानूनको रक्षा गर्न मस्को र तेहरानबीच साझा धारणा रहेको र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई थप घनिभूत बनाइने उल्लेख गर्नुभयो । यसैगरी, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले वार्तालाई ‘फलदायी, पारदर्शी र स्पष्ट’ भन्दै टिप्पणी गर्नुभयो ।

लाभरोभले पश्चिमा नाकाबन्दीका बाबजुद दुई देशबीचको द्विपक्षीय व्यापारमा तिब्र तथा दिगो वृद्धि भइरहेको बताउनु भयो । उहाँले दक्षिणी इरानस्थित बुसेहर आणविक ऊर्जा केन्द्र परियोजनामा रुसी इन्जिनियर तथा प्राविधिक विशेषज्ञहरू क्रमिक रूपमा काममा फर्किरहेको जानकारी समेत दिनुभयो । हाइड्रोकार्बन निष्कासन र त्यसको पारवहन (ट्रान्जिट) का क्षेत्रमा दुई मुलुकबीच सहकार्यको व्यापक सम्भावना रहेको लाभरोभको भनाइ थियो । अमेरिकी प्रतिबन्धको सामना गरिरहेका इरान र रुसले पछिल्ला वर्षहरूमा पश्चिमा दबाबको प्रतिवाद गर्न रणनीतिक, राजनीतिक तथा आर्थिक साझेदारीलाई निरन्तर विस्तार गर्दै लगेका छन् ।