सिद्धिपुरमा नेपालकै पहिलो मानव मूत्र बैंक स्थापना

मानव मूत्रको उचित व्यवस्थापन गर्न र वालीनालीमा मलखादको रुपमा प्रयोग गर्न सिद्धिपुरका किसानहरुले आफ्नै गाउँमा नेपालकै पहिलो मूत्र बैंक स्थापना गरेको छ ।रासायनिक मलको प्रयोगबाट उत्पादित कृषिजन्य खाद्यवस्तुको गुणस्तरमा कमी आउनुका साथै माटोको उर्वरा क्षमतामा पनि ह्रास आउन थाले पछि उक्त क्षेत्रका किसानहरुले खेतीका लागि मानव मूत्र प्रयोग गर्न थालेका हुन् ।

                    उक्त मूत्र बैंकको उद्घाटन गर्नुहुँदै यूएन हाविटाट् दक्षिण एशिया क्षेत्रका प्रमुख प्राविधिक सल्लाहकार डा. रोशन राज श्रेष्ठले मूत्र बैंकको स्थापनाले खेतबारीका लागि आवश्यक मूत्रको व्यवस्था गर्न कृषकहरुलाई सहयोग पुग्ने बताउनु भयो । हाल सिद्धिपुरमा कृषकहरुले आफ्नै घरबाट उत्सर्जन भएको पिसावलाई खेतबारीमा मलको रुपमा प्रयोग गर्ने गरेका छन् । मलको रुपमा खेतबारीमा मूत्र प्रयोग गर्दा एक भाग मूत्र र तीन भाग पानी मिसाइन्छ । खेतबारीमा मलको रुपमा प्रयोग हुन थालेपछि गाउँमा मानव मूत्रको खपत बढ्दै गएको छ । यसले सिद्धिपुरमा मानव मूत्रको मागमा पनि बृद्धि भएको छ ।

                    उक्त माग पूर्ति गर्न स्थानीयवासीहरुको पहलमा मानव पिसाव व्यवस्थापन समिति गठन गरी केन्द्रीकृत रुपमा मूत्र संकलन कार्य शुरु पनि गरिएको छ।सो कार्यका लागि समितिलाई स्विजरल्याण्डको सहयोगी संस्था ईवाग र यूएन हाविटाट नेपालको तर्फबाट आवश्यक प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिएको छ । आफ्नो खेतका लागि नपुग मूत्र बैंकबाट किन्न पाउने भएपछि स्थानीय किसानहरुमा उत्साह छाएको छ । बैंकले हाल 1 लिटर मूत्रको 1 रुपैयाँका दरले विक्रि गर्ने गरेको छ ।