कपिलवस्तुमा भारतीय मन्त्री नेपाल प्रहरीको नियन्त्रणमा

तौलिहवा, जेठ ८ – हतियारधारी सुरक्षाकर्मीसहित भारतीय मन्त्रीको एक टोलीलाई विनाजानकारी नेपाल प्रवेश गरेको भन्दै प्रहरीले कपिलवस्तुमा नियन्त्रणमा लिएको छ। भारतको उत्तर प्रदेशको बहुजन समाज पार्टीको तर्फबाट मन्त्री बनेकी विद्या चौधरीसहित आएका ३ सुरक्षाकर्मीलाई कपिलवस्तुको चन्द्रौटा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।

 

पक्राउ परेका मन्त्रीको टोली यु.पी. ५० पी. ८४०० नम्बरको भारतीय गाडीसहित कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रबाट प्रवेश गरी करिब २२ किलोमिटर पर पूर्व-पश्चिम राजमार्गको चन्द्रौटासम्म पुगेका थिए।

भारतीय नम्बरको बन्द गाडीमा आएको सो टोलीलाई चेकजाँच गर्दा गाडीमा हतियार फेला परेको र सोधपुछ गर्दा गाडीमा भारतीय मन्त्री रहेको खुलासा भएको इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक यज्ञ भट्टराईले बताए। मन्त्रीसहित सुरक्षाकर्मीको टोलीलाई अहिले इलाका प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा राखिएको थियो।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयले उक्त टोलीलाई भारतको उत्तर प्रदेशस्थित सिद्धार्थनगर प्रहरीको जिम्मामा छाडेको छ।