पूर्वराजा ज्ञानेन्द्र नेपालगन्जमा शुभेच्छुकहरुलाई भेट्दै, समर्थकहरुले राजतन्त्र र हिन्दु राज्यको पक्षमा नाराबाजी

 नेपालगन्ज, जेठ ९  – पूर्वराजा ज्ञानेन्द्र शाह बागेश्वरी मन्दिरमा विशेष पूजा अर्चना सकाई सुर्खेत रोडस्थित स्नेहा होटलतर्फ लागेका छन्। त्यहाँ उनले स्थानीय नेता र शुभेच्छुकहरुलाई भेट्ने कार्यक्रम रहेको स्रोतले बताएको छ।

 

प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन तथा पूजा अर्चनाका लागि पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार बिहान बुद्ध एअरको उडानबाट नेपालगन्ज पुगेका हुन्। ज्ञानेन्द्रको स्वागतका लागि पूर्वपञ्च, शिव सेना र विश्व हिन्दु महासंघका कार्यकर्ता नेपालगन्जमा खटिएका छन्।


उनी राँझा विमानस्थलमा पुग्दा टर्मिनलभित्रै उनका समर्थकहरुले राजतन्त्र र हिन्दु राज्यको पक्षमा नाराबाजी गरेका थिए।


विमानस्थलदेखि त्रिभुवन चोकसम्म करिब आठ किलोमिटरको बाटोमा शिवसेना, राप्रपा नेपालका कार्यकर्ताहरुले मोटरसाइकलमा शाहको गाडीलाई एस्कर्टिङ गरेका थिए। ज्ञानेन्द्र गाडीबाट मुख्य व्यापारिक स्थल त्रिभुवन चोकमा ओर्लेका थिए।


त्रिभुवन चोकदेखि बागेश्वरी मन्दिरसम्मको करिब एक किलोमिटर पिच सडकमा हरियो* कार्पेट बिछ्याइएको छ। मन्दिर परिसरमा भने रातो कार्पेट बिछ्याइएको छ। कार्पेट बिछ्याइएको ठाउँमा पैदल यात्रा गर्दै शाह मन्दिर पुगेका थिए। सडकको वरपर किशोरकिशोरी र युवा उभिएका थिए। बाजागाजासहित तामझामका साथ शाहको स्वागत उनका समर्थकहरुले गरेका थिए। सडकमा कार्पेट बिछ्याइएको यो पहिलो अवसर हो। राजतन्त्र सक्रिय हुँदासमेत यस्तो गरिएको नेपालगन्जवासीहरुलाई थाहा छैन।


शाहले मन्दिरबाट फर्किएपछि आफ्ना समर्थकहरुसित कुराकानीसमेत गर्ने कार्यक्रम छ। तर उनले विमानस्थलमा भने सञ्चारकर्मीहरुलाई केही बताएनन्।

उनी आजै साँझ आकाश मार्गबाटै काठमाडौँ फर्कँदै छन्।