डाक्टरको लापरवाहीले गर्भपतन गराउँदा एक महिलाको मृत्यु

दमक, जेष्ठ १० – झापाको दमक स्थित मेरी स्टोप्स सेन्टरका डाक्टरको लापरवाहीले गर्भपतन गराउँदा एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यलय दमकका अनुसार दमक १५ की ३५ वर्षीया दुर्गा खड्काको आइतबार साँझ ६ बजे मृत्यु भएको हो । दिउँसो श्रीमान् सहित आएर गर्भपतन गराएकी खड्काको अत्याधिक रक्तश्राव भएपछि दमककै लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको थियो । अस्पतालमा उपचार सुरु हुनासाथ खड्काको मृत्यू भएको अस्पतालले जनाएको छ ।

खड्कालाई सेन्टरका डाक्टर जगदिश प्रसाद पूर्वेले गर्भपतन गराएका थिए । खड्काको मृत्यु भएपछि डाक्टर सम्पर्कमा नरहेको प्रहरी निरीक्षक नबिन कार्कीले बताए । कार्कीका अनुसार पूर्वेको खोजी र घटनाको अनुसन्धान भइरहेको छ ।मेरी स्टोप्स सेन्टरलाई गर्भपतनको सुरक्षित स्थान भन्ने गरिएको छ ।मृतक खड्काका दुई जना छोराछोरी छन् । खड्काको शब  पोष्टमार्टमका लागि लगिएको छ ।