बोस्टनमा एक नेपाली विद्यार्थीको असामयीक निधन

बोस्टन, म्यासाचुसेट्स –  बोस्टनमा सिद्ध राज कार्की नाम गरेका एक नेपाली विद्यार्थीको असामयिक निधन भएको खबर छ । समरभिलस्थित १३ भर्मन स्टि्रट, अपार्टमेण्ट १ मा साथीहरुसंगै बस्दै आएका मृतक कार्कीले बोस्टनस्थित क्वीन्सी कलेजबाट भर्खरै एशोसियट डिग्री सकेका थिए र गत मई २७ तारेख कलेजमा भएको दीक्षान्त समारोहमा समेत सहभागी भएका थिए ।
प्राप्त समाचार अनुसार मई २९ तारेख शनिबार बेलुकी उनी बसेको अपार्टमेन्टमा हल्का पार्टी भएको थियो । पार्टी सकेपछि सुतेका उनी भोलीपल्ट अबेर सम्म नउठेपछि उक्त अपार्टमेन्टमा संगै बस्दै आएका साथीहरुले बोलाउंदा उनी मृत अवस्थामा भेटिए । तत्कालै स्थानिय प्रहरीलाई खबर गरियो र प्रहरीको सकृयतामा शवलाई पोष्टमार्टमका लागि बोस्टन मेडिकल सेन्टरमा पुरयाइयो ।
अहिलेसम्म प्राप्त खबरअनुसार पोष्टमार्टम सकिसकेको छ र रिपोर्ट आउन करीब ८ हप्ता लाग्ने जनाइएको छ । काठमाण्डौं सितापाइलामा बस्नुहुने मृतक कार्कीका वुवा आमा वा पारिवारीक सदस्य कोहीपनि दाहसंस्कारको लागि तत्कालै अमेरिका आउने स्थिति नरहेकोले अमेरिकामै बस्दै आउनु भएका मृतकका आफन्तजनहरुको उपस्थितिमा दाहसंस्कार गर्ने कार्यक्रम रहेको संगै बस्दै आउनुभएका सुजु श्रेष्टले नेपाली खबरलाई बताउनुभएको छ । पोष्टमार्टम सकिसकेको र आफन्तहरु पनि आइसक्नुभएकोले अन्तिम दाहसंस्कारको लागि प्रक्रिया अगाडी बढिसकेको छ । त्यसको लागि यहांको स्थानीय नेपाली संस्था ग्रेटर बोस्टन नेपाली कम्युनिटीले पहल गरिरहेको बुझिएको छ । संभवत जुन २ तारेख बुधबार दाहसंस्कार गर्ने कार्यक्रम रहेको जनाइएको छ । स्वर्गीय कार्कीको निधनले बोस्टनबासी नेपालीलाई फेरी एकपटक शोकमा पारेको छ ।