सुनसरी (बराहक्षेत्र) – तीन बर्षपछि फेरि सुचारु भएको एक साता नवित्दै माओवादी, किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोख्खाले सप्तकोशी उच्चबाँध निर्माणको लागि भइरहेको विस्तृत आयोजना सर्वेक्षण (डीपीआर) रोक्न दबाब दिएको छ ।
सप्तकोशी बहुउदेश्यीय उच्चबाँधबारे सन् १९४६ मा भारत सरकार र नेपाल सरकारबीच गोप्य सन्धी भएको र वीच वीचमा पनि प्रधानमन्त्रीस्तरीय गोप्य सम्झौता गरेको आधारमा उच्चवाँध निर्माणको सर्वेक्षण गरिएको रहस्य खुलेको भन्दै माओवादीले जनताले अनुमोदन नगरेसम्मका लागि स्थगित गर्न शनिबारदेखि नै रोक्न दवाव दिएको हो ।
यस अघि तीन पटकसम्म अवरोध भएपछि सुनसरीको बराहक्षेत्र मन्दिरदेखि डेढ किलोमिटर उत्तरमा पर्ने धनकुटाको आहाले र उदयपुरको मैनामैनी सुनाखम्बी वीचमा उच्चबाँधको सर्वेक्षण कार्य रोकिएको थियो ।
डीपीआरका लागि सम्पूर्ण काम तत्काल रोक्न माओवादीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, सुनसरी क्षेत्र नं १ का सभासद किरण राई, माओवादीको जनवर्गीय संगठन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका महासचिव मुकेश मेन्याङ्बो, किराँती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष अशोक राई, किराँत राई यायोक्खाका केन्द्रीय उपाध्यक्ष तिलक राई लगायतका टोलीहरु सर्वेक्षणस्थलमा पुगेर काम स्थगित गर्न चेतावनी दिएका थिए ।
भारत सरकारले सन् १९८१ मा गरेको सर्वेक्षण अनुसार सप्तकोशीमा २ सय ६९ मिटर उचाईको वाँध बाधेर सिँचाइ, विद्युत र पारवहनको संचालन गर्न सकिने जनाएको थियो । सोही आधारमा दुई मुलुकका सरकारले कोसीमा डीपीआर सर्वेक्षण सुरु गरेका हुन् । तर पछिल्लो समयमा स्थानीय तहका सरोकारवाला, आदिवासी जनजातिको हित विपरीत उच्च बाँध निर्माण हुन लागेको ठहर गर्दै माओवादीले सर्वेक्षण कार्य रोक्न दबाब दिएको जनाएको छ ।



