धुलिखेलमा ट्रिपरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु

बनेपा, जेठ २३ – ट्रिपरको ठक्करबाट धुलिखेल नपा, २८ किलोमा आइतबार बिहान एक युवकको मृत्यु भएको छ।

 

पनौती-१२, खोपासीका २१ वर्षिय विनोद पहरीले चलाएको बा २५ प २७६ नम्बरको पल्सर मोटरसाइकललाई ना ४ ख ५१७ नम्बरको ट्रिपरले ठक्कर दिँदा पहरीको घटनास्थलमै मृत्यु भएको हो। उनी विरामी आमालाई धुलिखेल अस्पताल पुर्‍याएर बनेपा फर्कँदै थिए।

धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको मोटरसाइकललाई बनेपा नै आउँदै गरेको उक्त ट्रिपरले ओभरटेक गर्दा ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए।

तीब्र गतिमा ट्रिपर गुडाउँदा यस्ता दुर्घटनाहरु पटक पटक भएको भन्दै प्रहरी विरुद्ध उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप हुँदा स्थानीयवासी बागसिंह तामाङ, ट्राफिक इन्सपेक्टर नगेन्द्र देउजा र प्रहरी जवान प्रेमप्रसाद अधिकारी घाइते भएका छन्। समाचार संकलनमा गएका इमेज च्यानलका पत्रकार भीम गौतम र नेसनल टेलिभिजनका पत्रकार कपिल कोईरालालाई ढुंगाले लागेको छ।

प्रहरीले भीड नियन्त्रणका लागि दर्जन बढी सेल अश्रुग्याँस प्रहार गरको छ।