पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवालाई ८ रनले पराजित गर्दै विराटनगरको उपाधि

काठमाडौ, जेष्ठ २४ – पेप्सी ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता क्षेत्र नं १ बिराटनगरले जितेको छ । सोमबार सम्पन्न फाइनलमा क्षेत्र नं ४ भैरहवालाई ८ रनले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो ।

पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको मैदानमा टस जितेर व्याटिङ गरेको विराटनगरले क्षेत्र नं ४ सँग जीतका लागि १ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा भैरहवाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९६ रनमात्र जोडेपछि विराटनगरको जित सुनिश्चित भएको हो ।

सुवास प्रधानले ४१ र दिपेश खत्रीले २७ रनको योगदान दिएपनि भैरहवालाई विजय गराउन सकेनन् । वलिङतफ बिराटनगरका महवुव आलमले १५ रन खर्चेर ३ विकेट लिए । यसअघि मध्यक्रमका ब्याट्सम्यानहरुले राम्रो प्रर्दशन गरेपछि विराटनगर निर्धारित ओभरमा १ सय ४ रनमा अल आउट भएको थियो ।

त्यसका लागि मन्जित श्रेष्ठले सर्वाधिक ३५ रन, महवुव आलमले २४ र शनि पुनले १७ रन जोड्नुवाहेक अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन् ।

वलिङतर्फ भैरहवाका विजय थापा उत्कृष्ट रहे । उनले १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । राहुल विकले ३ तथा अमृत भट्टराईले २ विकेट लिए ।