भारतको भोपाल हजारौंको ज्यान जाने गरी एउटा ग्यास कारखानामा भएको चुहावटका सम्बन्धमा आठ जनालाई दोषी ठहर


भारतको भोपाल शहरस्थित एउटा अदालतले २५ बर्ष भन्दाअघि हजारौंको ज्यान जाने गरी एउटा ग्यास कारखानामा भएको चुहावटका सम्बन्धमा आठ जनालाई हेलचेक्र्याईं गरेर अरूको ज्यान लिएको अभियोगमा दोषी ठहर गरेको छ।

अमेरिकी कम्पनी युनियन कार्बाईडको स्वामित्वमाम रहेको सो किटनाशक विषादि कारखानामा भएको विषालु ग्यास चुहावट दुर्घटनालाई इतिहासकै सबैभन्दा खराब औद्योगिक विनाश भनिएको छ।


हाल अस्तित्वमा नरहेको युनियन कार्वाईड कम्पनीको भारतीय साझेदार कम्पनीलाई पनि उक्त घटनामा दोषी ठहर गरिएको छ।


तेइस बर्षअघि शुरू भएको मुद्दामा अहिले आएर बल्ल फैसला सुनाइएको हो।


दोषीलाई केही जरिवाना र दुई बर्षको जेल सजाय दिइएको छ।


तर सोमबारको फैसलाले पुनरावेदनको लामो चरण पार गर्नुपर्ने हुन सक्छ।


क्षति


अभियानकर्ताहरू भन्छन्, युनियन कार्बाईडको कारखानाबाट झण्डै चालिस टन विषालु ग्यासको ठूलो मुश्लो चुहावट भएर नजीकैको शहरको छेउमा रहेको झुपड वस्तीमाथि मडारिएको थियो।


भारत सरकारका अनुसार त्यसको केही दिनको अन्तरालमा कम्तीमा ३,५०० र पछि १५,००० मानिसहरुको ज्यान गएको थियो।


अभियानकर्ताहरू मा‌रिनेको संख्या २५,००० हुनसक्ने बताउंछन्।

images

विषालु ग्यासको प्रभावबाट अझै पनि दशौं हजार मानिसहरू समस्याग्रस्त छन् भने त्यस इलाका वरपर जन्मने शिशुहरूमा ठूलो संख्यामा विकारहरू देखिएको छ।


वातावरणवादीहरू उक्त दुर्घटना भएको स्थानमा अझै विषादिको अवशेष रहेको दावी गर्छन्।

images

अधिकारवादी समूह र उक्त ग्यास दुर्घटनाका पीडितहरूका पक्षमा काम गर्ने गैरसरकारी संस्थाहरूले सो फैसला अपर्याप्त भएको बताए।


पृष्ठभूमि

images

सन् १९८४ को डिसेम्बर महिनामा भारतको भोपालमा भएको विषालु ग्यास चुहावटको घटनामा कसैलाई कानुनी रूपमा जिम्मेवार ठहर्याइएको यो पहिलो पल्ट हो।


सजाय सुनाइएका सबै आठजना भारतीय नागरिकहरू उक्त विषादि कारखानाका भूतपूर्व कार्यकारीहरू थिए।


अदालतले दोषी ठहर गरेकाहरू मध्ये एकजनाको मृत्यु भैसकेको छ भने केही ७० बर्ष भन्दाबढी उमेरका छन्।


तिनीहरू हरेकले एक लाख भारतीय रूपैया जरिवाना तिर्नुपर्ने पनि फैसलामा उल्लेख छ।

Nepal life insurance

अमेरिकामा मूख्य कार्यालय रहेको युनियन कार्वाइडका तत्कालिन अध्यक्षलाई पनि फिरादपत्रमा अभियुक्तका रूपमा उल्लेख गरिएको थियो।


तर पछि तिनलाई अदालतमा हाजिर नभएर फरार रहेको व्यक्तिका रूपमा घोषणा गरिएको थियो।


सोमबारको फैसलामा उनका बारेमा भने केहि उल्लेख छैन।


सन् १९८९ मा युनियन कार्बाईड कम्पनीले भारत सरकारलाई ४७ करोड अमेरिकी डलर क्षतिपूर्ति स्वरूप प्रदान गरेको थियो।


दश बर्षपछि उक्त कम्पनीलाई डाओ केमिकल्स नामको अर्को कम्पनीले खरीद गरेको थियो।


अहिले उक्त कम्पनीले सन् १९८९ मा तिरिएको क्षतिपूर्तिले आफुलाई उक्त ग्यास चुहावटको घटनासंग सम्बन्धित सबै जिम्मेवारीबाट मुक्त गरिसकेको बताउँदैआएको छ।