आर्थिक वर्ष ०६७/६८ को बजेट तीन खर्बभन्दा बढि आउने

सरकारमा सामेल १० दल र त्यसका समर्थक पार्टीले आगामी बजेट बृहत् आकारको ल्याउनु भन्दा कार्यान्वयनको पक्षलाई बलियो बनाउने खालका योजना मात्र समेट्न सरकारलाई सुझाउ दिएका छन् ।


आर्थिक वर्ष ०६७/६८ को  नीति तथा बजेट तर्जुमाका सन्र्दभमा आफ्ना सत्ता साझेदार दलको राय/सुझाव लिन प्रधानमन्त्री माधवकुमार नेपालले बोलाउनु भएको बैठकमा दलका प्रतिनिधिले सो सुझाव दिएका हुन् ।


बैठकको प्रारम्भमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले  सरकारले तयार पार्न लागेको नीति तथा कार्यक्रम र बजेटको सैद्धान्तिक पक्ष, चालु आयोजनाको निरन्तरता र प्राथमिकताका  लागि छनौट गरिएका क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो ।


दलका प्रतिनिधिले कृषि, शिक्षा र रोजगारीका क्षेत्रलाई उच्च प्राथमिकता दिन सरकारलाई सुझाव दिंदै विनियोजित बजेट कार्यान्वयनका लागि बलियो संयन्त्र बनाउन समेत सल्लाह दिएका थिए ।


बैठकमा एनेकपा -माओवादी)बाट विगतमा झैं हुन सक्ने अवरोधको सन्र्दभलिएर अध्यादेश मार्फत बजेट ल्याउन र पारित गर्न सकिन्छ वा सकिदैन भन्नेबारेमा कुरा उठेपनि सबैले दलहरूबीच सहमतिको विकल्प नभएकाले त्यसतर्फ अघि नबढ्न र नसोच्न समेत सल्लाह दिइएको सभासद् चन्द्रदेव जोशीले बताउनुभयो ।


आगामी वर्षको बजेट यही असार महिनाको अन्तिम सातामा आउने र यो रु.तीन खर्व ३५ अर्व हाराहारीको हुने बताइएको छ ।