काठमाडौ, कार्तिक ३ – सरकारका प्रवक्ता एवं संचारमन्त्री शंकर पोखरेलले माओवादी अवरोधका बावजुद पनि कामचलाउ सरकारले पूर्णबजेट ल्याएरै छाड्ने दावी गरेका छन् ।
माओवादीले कुनै पनि हालतमा यो सरकारलाई बजेट ल्याउन नदिने चुनौती दिइरहेको बेला सरकारका प्रवक्ता पोखरेलले माओवादीले साथ नदिएपनि मुलुक बजेटबिहीन नहुने बताए ।
राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा उनले बजेटका कारण मुलुक आर्थिक बन्दी नहुने दावी गरे । कामचलाउ सरकारलाई बजेट ल्याउन अवरोध गरेर माओवादीले केटाकेटीपन देखाएको उनले टिप्पणी गरे ।राजनीतिक गतिरोधको नैतिक जिम्मेवारी माओवादीले लिनु पर्ने भन्दै संचारमन्त्री पोखरेलले शान्ति र संविधानका विवादित बुदाँमा सहमति नबन्दासम्म नयां सरकार गठन हुन नसक्ने बताए ।



