नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि पश्चिमी नेपाल फोन अवरुद्ध

रोल्पा – पश्चिमी रोल्पाको राकस्थित रातामाटामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि पश्चिमी रोल्पा लगायत रुकुम, जाजरकोट र सल्यानमा सिडिएमए स्काई फोन अवरुद्ध भएको छ ।

केही दिन अघिबाट आएको खराबीको मर्मत नगरेका कारण त्यस क्षेत्रका फोन प्रयोगकर्ता मर्कामा परेका हुन् । नेपाल टेलिकम रोल्पाले भने मर्मत कार्यका लागि क्षेत्रीय कार्यालयमा जानकारी पठाएको जनाएको छ ।

जिनाबाङका कृष्णराम डाँगीले दसैं  अघिबाट फोन राम्ररी नलागेको गुनासो गरे । उक्त टावर मार्फत जिल्लाका १० हजार बढी ग्राहकमा सेवा पुग्दै आएको छ ।

टेलिकमले दसैं र तिहारको समयमा फोन गरेबापत लाग्ने शुल्कमा भारी छुट गरेको भएपनि यस क्षेत्रमा फोन सुविधा नहुँदा उपभोक्ताहरू मर्कामा परेका छन् । तत्काल फोन सेवा सुचारु गर्न सरकारसँग सर्वसाधारणले माग गरेका छन् ।

जिल्लाको पश्चिममा सिडिएमए फोनमा टावरहरू टिला र कोर्चाबाङ डाँडामा निर्माण गरेपनि राम्ररी काम गर्न सकेको छैन । फोन पटक पटक अवरुद्ध गरेपनि सम्बन्धित पक्षले चासो नदिएका कारण लामो समयबाट फोन सेवाबाट बञ्चित हुँदै आएको थबाङका पहलमान डागीले बताए ।