२० वर्ष पूरा नगरी विवाह नगर्न किशोरीलाई सुझाव

[sudan+marriage+phudabang2065+058.jpg]

 

काठमाडौँ – कम उमेरमै यौन सम्पर्क गर्दा पाठेघरको मुखको क्यान्सरलगायत यौनजन्य संक्रामक रोग लाग्ने सम्भावना बढी भएकाले २० वर्ष पूरा नगरी विवाह नगर्न किशोरीलाई सुझाव दिइएको छ ।


बीस वर्षभन्दा कम उमेरमा पाठेघर र शरीरका अन्य अङ्गको विकास भइनसक्ने हुनाले बच्चा पाउन कठिन हुने, रगत धेरै बग्ने, पाठेघर च्यातिनेजस्ता समस्या उमेर पुगेका महिलाको दाँजोमा दोब्बर हुने हुनाले विवाह नगर्न सुझाव दिइएको हो ।


स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखा र स्थानीय एकीकृत विकास समाज -सोलिड) नामक संस्थाद्वारा आज यहाँ आयोजित छलफलका सहभागीले सो सुझाव दिनुभएको हो । कम उमेरमा बच्चा पाएका महिलामा पछि गएर आङ खस्ने, योनीमार्ग र मुत्रनलीमा प्वाल पर्ने जोखिम रहने उहाँहरुले बताउनुभयो ।


सोलिड नेपालद्वारा ललितपुर, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट र रसुवा जिल्लामा गरिएको सर्वेक्षणका अनुसार ४४ प्रतिशत किशोरीको १८ वर्षभन्दा कम उमेरमा नै विवाह हुने गरेको छ ।


नेपालका बालबालिकाको स्थिति नामक सो प्रतिवेदनका अनुसार नेपालमा सयमा ५६ जना बालबालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले कम उमेरमा विवाह गर्नु र गर्भधारण गर्नु प्रजनन स्वास्थ्यका दृष्टिले हानिकारक रहेको बताउनुभयो ।


सोलिड नेपालका कार्यकारी निर्देशक डा खेमबहादुर कार्की र परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेश केसीले विवाह कहिले र कोसँग गर्ने, बच्चा कहिले र कति अन्तरालमा जन्माउने विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।