

५ फिट ९ इन्च अग्ली मिल्स एलिट मोडल्स एजेन्सीसँग व्यावसायिक मोडलकी रूपमा कार्यरत छिन्। जित हासिल गरेपछि हलमा उपस्थित दुई हजारभन्दा बढी दर्शकतिर उनले हात हल्लाइन्। अर्बभन्दा बढी टेलिभिजनका दर्शकले हेरेको दुई घन्टा लामो कार्यक्रममा मिल्सले प्रतियोगिताको अवधिमा संसारका ११४ सहभागीसँग बिताएको एक महिनाले जीवनमा ठूलो प्रभाव पारेको बताइन्।
पूर्व मिस वर्ल्ड २४ वर्षे अल्डोरिनोले बिदाइ मन्तव्यको क्रममा गएको वर्षमा गरेका विभिन्न देशको भ्रमण रमाइलो रहेको अनुभव सुनाइन्।
गत वर्षकी मिस वर्ल्ड जिब्राल्टरकी कायने अल्डोरिनोले ताज पहिराएर हीरा आकारको सिंहासनमा डोर्याउँदा १८ वर्षे मिल्सले आँसु थाम्न सकिनन्। प्रतियोगिताको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा सिंहासन हीरा आकारको बनाइएको हो।
बोत्स्वानाकी एम्मा वारियस फस्ट रनरअप र भेनेजुयलाकी अड्रियाना भासिनीले सेकेन्ड रनरअपको उपाधिमा कब्जा जमाए। त्यस्तै आयरल्यान्डकी एम्मा वाल्ड्रन र मिस चाइना सियाओ ताङ उत्कृष्ट पाँचमा परेको अन्य युवती थिए। एम्माले चिनियाँ भाषामा अभिवादन गरेकी थिइन् भने ताङले धेरैजसो समय अंग्रेजी बोलिन्।
उत्कृष्ट २० मा परेका अरू सहभागीहरू एग्नी एकर्ट (पाराग्वे), आइशा गुस्ताभ (सेन्ट लुसिया), डेसिरी बर्ग (नेदरल्यान्ड), भर्जिनाई डेचेनाउड (फ्रान्स), डेनिसे गारिडो (क्यानाडा), ब्रानेका बासेट (बाहमास), लाउरा रेस्ट्रेपो (कोलम्बिया), निकोल फ्िलन्ट (दक्षिण अफ्रिका), युवारेत रुएङस्री (थाइल्यान्ड), सेर्नाइ अमर (मंगोलिया), लाभिनिया पोस्टोलाचे (रोमानिया), गिएडा पेजाउली (इटली), सुसान्ना कोबेलिन्स्की (जर्मनी), मिहिलानी टेक्सेरिया (फ्रेन्च पोलिनेसिया), इरिना सारिपोभा (रुस) र निकोला मिमनाफ (स्कटल्यान्ड) थिए।
हैनान टापुका अल्पसंख्यक जातिहरूको परम्परागत नृत्यबाट सुरु भएको चीनको सान्यामा आयोजित कार्यक्रमको सुरुवातमा सबै सहभागी युवतीले आफ्नो परिचय दिएका थिए। प्युर्टो रिकन गायक कार्लोस अपोन्टेको गीतले समारोह सांगीतिक बनेको थियो। हैनानमा मिस वर्ल्ड पछिल्लो आठ वर्षको अवधिमा पाँचौं पटक भएको हो।
आयरल्यान्डकी एम्माले मिस ट्यालेन्ट, उत्तरी आयरल्यान्डकी लोरी मुरेले मिस स्पोर्टस्, नर्वेकी मारियनले मिस टप मोडल, प्युर्टो रिकोकी यारा सान्तियागोले मिस बिच ब्युटी र केन्याकी नाताशा मेटोले मिस वर्ल्ड ब्युटी जितेका छन्।



