पाल्पाको पर्यटन व्यावसायलाई टेवा पुर्‍याउन तानसेनको श्रीनगरमा भ्यूटावरको निर्माण हुँदै

पाल्पा – पाल्पाको पर्यटन व्यावसायलाई टेवा पुर्‍याउन तानसेनको श्रीनगरमा भ्यूटावरको निर्माण भइरहेको छ ।


अन्नपूर्ण, धौलगिरी लगायतका हिमश्रृखलाहरू, दक्षिणमा तराईका भूभागलाई  हेर्न सक्ने गरी भ्यूटावर निर्माण गरिएको छ । तानसेन घुम्न आउने पर्यटकहरूले १ सय ५ फिट अग्लो करूवा आकारको भ्यू टावरबाट मनोरम दृष्यहरू हेर्न पाउने भएका छन् ।


करिब डेढ करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको टावरको जमिन मुनिको भागको काम भइरहेको छ । पहिलो चरणमा ४६ लाख रूपैयाँ लागतमा निर्मित भ्यूटावर सन् २०१२ सम्म सक्ने लक्ष्य नगरपालिकाको छ ।
जमिन मुनि करिब १२ फिटको जग बनाइएको छ । भ्यू टावरको भित्र लिप्ट समेत राख्ने गरी निर्माण कार्य भइरहेको छ । आन्तरिक तथा बाह्रय पर्यटकहरूको गन्तव्य स्थान बनेको तानसेनमा घुम्न आउने पर्यटकहरूका लागि लक्षित गरी निर्माण गरिएको छ ।


नेपालको दार्जिलिङ्गसंग तुलना गरिएको तानसेनको भ्यू टावरमा दामनमा जस्तै दुरवीनको माध्यमबाट यस क्षेत्रका विभिन्न मनोरम दृष्य हेर्न अवस्थाको सिर्जना गर्ने तानसेन नगरपालिका कार्यकारी अधिकृत शिशिर पौडेलले बताए । पोखरा र लुम्बिनीको बिचमा रहेको तानसेनको भ्यू टावर निर्माण भएपछि बिदेशी पर्यटकको तानसेनको बसाई लम्ब्याउन सकिने र अन्य स्थानमा पनि पर्यटकहरूलाई जाने पौडेलको भनाइ छ ।