तराई क्षेत्रमा १ हजार ४ सय ५० किलोमिटर कालोपत्रे सडक बिस्तार गरिने

काठमाडौ, कार्तिक २९ – तराई क्षेत्रमा १ हजार ४ सय ५० किलोमिटर कालोपत्रे सडक बिस्तार गरिने भएको छ । नेपाल-भारत सहयोग कार्यक्रम अन्तरगत भारतले तराई क्षेत्रमा उक्त सडक निर्माण गरिदिन लागेको हो । काम यही डिसेम्बारबाट सुरु हुने बताइएको छ ।

भारतीय दूतावासले सोमबार जारी गरेको बिज्ञप्तिमा त्यसका लागि लाग्ने करिव ११ सय करोड नेपाली रुपैयाँ भारत सरकारले व्यहोर्ने उल्लेख गरिएको छ ।

तराई क्षेत्रमा सडक संरचना मजबुतिकरणका लागि गठित परियोजना सञ्चालक समितिको  बैठकपछि जारी उक्त बिज्ञप्तिमा प्रथम चरणमा ६ सय ५ किलोमिटर लम्बाइका १९ सडकहरु यही डिसेम्बरदेखि निर्माण सुरु हुने उल्लेख गरिएको छ ।

ठेकेदारलाई कुनै झन्झट विना जग्गा उपलब्ध गराउनु तथा सबै सडकहरुको लम्वाई उपयोगिता वारे सुनिश्चिता प्रदान गर्नु नेपाल सरकारको जिम्मेवारी रहेको पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल र भारत दुबैले परियोजना कार्यान्वयनको लागि इन्जिनियरहरु नियुक्ति गरिसकेको तथा सरकारले परियोजना संयोजकको नियुक्ति गरी सहयोगको लागि नेपालगंज, हेटौडा, जनकपुर र इटहरी परियोजना स्थल कार्यालयहरु समेत स्थापना गरिसकेको जनाएको छ ।

बैठक नेपालका तर्फाट भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिव श्री कमलराज पाण्डे र भारतको तर्फाट विदेश मन्त्रालयका सहसचिव (उत्तर) श्री सतिश सी. मेहताको संयुक्त अध्यक्षतामा बसेको थियो ।