आज कार्तिक शुक्ल पक्षको हरिवोधनी एकादशी, हिन्दु परम्पराअनुसार दिनभर व्रत बसी वैधिक विधिअनुसार तुलसीको विवाह गरिदिने प्रचलन रहेको छ ।
असार शुक्ल एकादशीका दिन व्रत बसेर घरमा रोपिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् आजको दिन व्रत बसेर पूजा गरे फल प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ । आजको दिन तीर्थालुहरु नजिकैको जलासयमा गई स्नान गरी चोखो भई व्रत बसेर भगवान विष्णुको प्रतीक तुलसीको विशेष रुपमा पूजा गरी बिहे गरिदिने गर्दछन् ।
यसैबीच आज गुल्मीको ऐतिहासिक तथा धार्मिकस्थल रेसुङ्गा क्षेत्र र रुरु क्षेत्रमा बिहानैदेखि श्रृद्धालु भक्तजनहरुको निक्कै घुँइचो लागेको छ । रेसुङ्गाको पोखरीमा रहेको पानीले स्नान गरेपछि जीवनमा गरेका सम्पूर्ण पापहरु नस्ट हुने धार्मिक विश्वास रहेको छ ।
आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । अन्य एकादशीभन्दा आजको एकादशीलाई विशेष महत्वको रुपमा लिने गरिन्छ । रेसुङ्गा पोखरीमा स्नान गर्नका लागि गुल्मीलगायत पाल्पा, बाग्लुङ, अर्घाखाँची, प्यूठानलगायत धेरै टाढा टाढावाट पनि श्रृद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । त्यस्तै आजकै दिन यस वर्षको भैली कार्यक्रमको अन्त्य गर्ने पनि गरिन्छ ।
त्यस्तै पाल्पाको सिमाना रामपुर राम्दी, स्याङ्गजाको छाङ्गछाङ्गदी, तनहुँको देवघाट, कास्कीको गाईघाटलगायतका क्षेत्रमा समेत श्रृद्धालु भक्तजनको घुइँचो लागेको छ ।



