जेलको अध्याँरोमा छन् उज्यालो बारे लेख्ने पत्रकार थापा


– तिर्थ न्यौपाने

काठमाडौ। पत्रकारितामा उनले दुई दशकदेखि उर्जाबारे सशक्त कलम चलाए । जलस्रोत र अन्य उर्जा अनुसन्धानकर्तासँग देशको विभिन्न स्थान चहारे । उर्जा उत्पादन सम्भाव्यता र त्यसमा देखिएका विविध खालका समस्या तथा विकृति बारेमा उनले कान्तिपुर दैनिकमा निरन्तर लेखिरहे ।


उनको समाचार/लेख जलस्रोत तथा अन्य वैकल्पिक उर्जा सम्बन्धित विज्ञको लागि समेत सुझाव बन्थ्यो । तर साढे २ महिनादेखि भने उनको कलम बन्द भएको छ । कारण उर्जाका ती अग्रणी पत्रकार विकास थापा यतिखेर भद्र बन्दी गृहको अध्यारो ४ नम्बर कोठामा छन् । उनलाई विद्युतीय कारोबार अन्तर्गतको अपुष्ट आरोपका भरमा जेलमा राखिएको हो ।


देशलाई विद्युतले झलमल्ल पार्न पत्रकारिताको तर्फबाट थापा निकै क्रियाशील थिए । तर अहिले भने सूर्यको उज्यालो देख्नको लागि समेत साथी भाई र विभिन्न निकायलाई गुहार्नु उनको दिन चर्या बनेको छ ।


मुलुक अहिले संविधान लेखन प्रक्रियामा छ । जलस्रोतको धनी देश नेपालको संविधानमा पनि त्यस बारे स्पष्ट खाका तय हुनु आवश्यक छ । त्यसको लागि राज्यलाई विभिन्न अंगको सहयोग चाहिन्छ । राज्यको चौथो अंग भनिने पत्रकारिताको सहयोग त झन अपरिहार्य छ । तर यस्तो बेलामा जलस्रोत बारेमा गहिरिएर कलम चलाउने अग्रज पत्रकार थापालाई जेलमा खुम्च्याउनु बिडम्बना मात्र होइन पत्रकारिता क्षेत्रका लागि दुखद् कुरा हो ।

नेपाल पत्रकार महासंघका केदि्रय अध्यक्ष, विभिन्न जिल्ला शाखाका अध्यक्ष, प्रेस यूनियन अध्यक्ष, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघका पदाधिकारीले पनि थापामाथि अन्याय भएको बताउँदै आएका छन् । त्यसै विभिन्न राष्ट्रिय दैनिक, टेलिभिजन र अन्य सञ्चार माध्यमका सम्पादकले पनि थापाप्रतिको कारवाही अलि बढी नै भएको धारणा अभियान टाईम्सले अगिल्लो अंकमा प्रकाशित गरिसकेको छ । तर ती सम्पादक र सञ्चार प्रतिष्ठानले त्यसलाई समाचार र लेखको रुपमा भने उठाउन सकेका देखिदैन ।  उनीहरुले यो मुद्दा कान्तिपुर दैनिकसग गासिएको हुन सक्ने आशंकाले खुलरै ऐक्यैबद्धता जनाउन हिच्किचाएका हुन एकथरी पत्रकार बताउँछन ।  पत्रकारहरुकै अनुसार भविष्यमा कान्तिपुरमै जागिर पाइन्छ कि भन्ने लोभले कतिपय बोल्न नचाहेको उनीहरुको तर्क छ । अर्कोथरीलाई यो मामिलामा लाग्दा कान्तिपुरले आफ्नै बारेमा पो केही लेखिदिन्छ की भन्ने चिन्ता छ ।


उता कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माले भने यो मुद्दामा कान्तिपुर पब्लिकेशन्स संलग्न नभएको अभियान टाईम्ससँगको कुराकानीमा बताईसकेका छन् । यो नितान्त दुई नागरिक बिचको मुद्दा हो, यसमा पब्लिकेशन्सको कुनै सम्बन्ध छैन । यदि अदालतले निर्दौष सावित गरे थापालाई फेरि पनि कान्तिपुरमै राख्ने बारे सोच्न सकिन्छ ।

यस्तो अवस्थामा आरोप प्रमाणित नहुदै थापालाई जेलमा हाल्नु उनी माथिको अन्याय मात्र होइन अन्य पत्रकारको लागि पनि चुनौती हो । अरुको झिनो मसिनो प्रसङ्घलाई समेत समाचार र लेख बनाउने पत्रकारले आफ्नो सवालसँग गासिएको यस्तो गम्भीर चुनौतीलाई नउठाउनु दुर्भाग्य हो । यसलाई पत्रकार महासंघ र कान्तिपुर पब्लिकेशनका पत्रकार दुबैले गम्भीर रुपमा लिनु पर्छ । किन भने थापा पत्रकार महासघका सभासद हुन, कान्तिपुर पब्लिकेशन्स पत्रकार/कर्मचारी यूनियनका अध्यक्ष छन् । यो देश मा अन्य क्षेत्र, पेशाका कर्मचारी मजदुरले आफ्नो सदस्यलाई अन्य क्षेत्रका कसैले छिस्स केही गर्दा आन्दोलन चर्किन्छ । मुलुक ठप्प हुन्छ । तर पत्रकार थापामाथि यति बिघ्न अन्याय हुँदा कान्तिपुर पब्लिकेशन्सका पत्रकार कर्मचारी जागिर जान्छ की भन्ने डरले आफ्नो अध्यक्षलाई भेट्न समेत गएका छैनन । स्रोत भन्छ- कान्तिपुर पब्लिकेशन्स व्यवस्थापनले थापालाई भेट्न जानेको जागिर धरापमा पर्ने आन्तरिक चेतावनी दिएको छ ।


कान्तिपुर पब्लिकेशन्स पत्रकारितामा मुलुकको अग्रणी संस्था हो । मुलुकलाई प्रजातन्त्रिक अभ्यासमा लग्न यो संस्थाको उल्लेखनीय योगदान छ । यही कारणले कान्तिपुर पत्रकारिताको लागि पथ प्रदर्शक बनेको हो । तर त्यही पब्लिकेशन्स भित्रको एउटा पत्रकार जेल पर्दा अरु पत्रकार र कर्मचारी उसलाई भेट्न गए त्यसको जागिर नै धरापमा पर्ने चेतावनी दिनुले पब्लिकेशन्स भित्र भने लोकतान्त्रिक पद्धति विकास हुन नसकेको आभास दिन्छ । यो पनि पत्रकारिताको लागि दुखद पक्ष हो । तसर्थ कान्तिपुरका पत्रकारले थापालाई भेट्ने मात्र होइन यस घटनामा सत्य तथ्य बोल्न, लेख्न पाउनु पर्छ । यस्तो परिस्थितिमा बोल्नु र लेख्नु पनि पर्छ । तब मात्र निष्पक्ष पत्रकारिता गरेको ठहर्छ । आरोप प्रमाणित नहुदै जेलमा राखिएका थापालाई मुक्त गर्न पत्रकार महासघले पनि सशक्त पहल गर्नु पर्छ ।