नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ बमोजिम बहुमूल्य धातु तथा पत्थरको व्यवसायमा संलग्न व्यक्ति फर्म, तथा कम्पनीहरूका लागि सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशिका २०६७ जारी गरेको छ । मङ्गलबार जारी गरिएको उक्त निर्देशिका आगामी पुस १ गतेदेखि लागू हुने पनि राष्ट्र बैङ्कले जनाएको छ ।
नयाँ निर्देशिका अनुसार व्यावसायमा संलग्न व्यक्ति, र्फम तथा कम्पनीहरूले आफ्नो ग्राहकको स्पस्ट पहिचान कायम गरी सोको विवरण राख्नुपर्ने, ग्राहकले सम्बन्धित व्यावसायीले मागेको विवरण दिनुपर्ने, सीमा कारोबारको विवरण सात दिनभित्र राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाईमा पठाउनुपर्ने, शङ्कास्पद कारोबारको विवरण तत्काल दिनुपर्ने, राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाईमा विवरण पठाउनुपर्ने र जोखिम व्यवस्थापन सम्बन्धमा गर्नुपर्ने कार्य रहेका छन् ।
राष्ट्र बैङ्कका अनुसार गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई कानुनी सम्पत्तिको रूपमा शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता आपराधिक कार्यलाई निरोत्साहित गर्न निर्देशिका जारी गरिएको हो । जारी निर्देशिकाले गैरकानुनी रूपमा सम्पत्ति शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता आपराधिक कार्यहरूको नियन्त्रण गर्न बहुमूल्य धातु तथा पत्थरका व्यवासायमा संलग्न व्यक्ति, फर्म तथा कम्पनीहरूको सहयोग पुग्ने विश्वास राष्ट्र बैङ्कले गरेको छ ।
राष्ट्र बैङ्कद्वारा जारी विज्ञप्ती अनुसार गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई कानुनी सम्पत्तिको रूपमा शुद्धीकरण गर्ने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता आपराधिक कार्यहरूले मुुलुकको आर्थिक सामाजिक र कानुनी प्रणालीमा नै नकारात्मक असर पार्ने भएकाले विश्वका हरेक राष्ट्रले यसलाई विशेष प्रथामिकता दिई यसविरुद्ध लडिरहेका र नेपालमा पनि वित्तीय सुरक्षाका लागि यो निर्देशिका जारी गरिएको हो ।
निर्देशिकाले गैरकानुनी रूपमा आर्जित सम्पत्तिलाई कानुनी बनाउने र आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने जस्ता अपराधविरुद्ध कानुनी कारबाहीका लागि हुने जाँचबुझ, अनुसन्धान तथा तहकिकातलाई सशक्त एवं प्रभावकारी बनाउनसमेत सहयोग पुग्ने आशा बैङ्कले गरेको छ ।



