रक्तिमद्वारा एक महिने सांस्कृतिक अभियान गर्ने



 

जनवादी सांगीतिक कार्यक्रम मार्फत सर्वहारा वर्गीय सांस्कृतिक आन्दोलन संचालन गर्दै आएको रक्तिम सांस्कृतिक अभियानको दोस्रो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम बुटवलमा सम्पन्न भएको छ ।

 

रक्तिम सांस्कृतिक अभियानले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी गराइएको हो ।

 

भेलाले रक्तिम सांस्कृतिक अभियानको मातहतमा रहने गरी ७३ सदस्यीय केन्द्रिय सांस्कृतिक समितिको गठन गरेको छ भने जीवन शर्माको अध्यक्षतामा १७ सदस्यीय केन्द्रिय समितिको चयन गरिएको पत्रकार सम्मेलन मार्फत अध्यक्ष शर्माले जानकारी दिए ।

 

त्यस्तै भेलाले आगामी पुष १० गतेदेखि माघ १० सम्म देशव्यापी रुपमा रक्तिम सांस्कृतिक अभियान संचालन गर्ने निर्णय गरेको छ । त्यसका लागि ३ वटा क्षेत्रिय टोली समेत बनाइएको रक्तिमले जनाएको छ । जसअन्र्तगत उपाध्याक्ष दलबहादुर विक नेतृत्वमा जाने पहिलो टोलीले पश्चिम डोटीदेखि अभियान भेरी अंचल र राप्ती अंचल तथा लुम्बिनी अंचलका विभिन्न जिल्ला हुँदै १० गते पर्वतको कुस्मामा पुगेर समापन गर्नेछ । महाचिव रेम रानाको नेतृत्वको टोलीले कपिलवस्तु जिल्लाबाट अभियान शुरु गरी चितवन मकवानपुर हँुदै रौतहट पुग्नेछ भने केन्द्रिय सदस्य भरत श्रेष्ठको नेतृत्वको अर्को टोली वागमती अंचलका जिल्लाहरुमा अभियान संचालन गर्ने निर्णय भएको पनि अध्यक्ष शर्माले बताए ।

 

रक्तिम अभियानद्वारा संचालन गरिएको १५ दिने राष्ट्रिय प्रशिक्षण शिविरमा देशका ४२ जिल्लाका ९० जना कलाकारको सहभागिता रहनेछ ।