ब्रिटिस गोर्खा कपको फाइनल खेलमा थ्रिस्टार क्लबलाई उपाधी

काठमाडौ  – संचारमाध्यमहरुले जनाए अनुसार शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दीलाई पछाडी पार्दै थ्रिस्टार क्लबले ब्रिटिस गोर्खा कपको उपाधी हात पारेको छ। यो नेपाली फुटवलमा सर्वाधिक नगद रासी १० लाख रुपैयाँको पुरस्कार रहेको प्रतियोगिता हो ।

खचाखच दर्शकहरुले भरिएको दशरथ रङ्गशालामा थ्री स्टारले टाइब्रेकरमा मनाङ मर्स्याङ्दीलाई ३-१ ले पराजित गर्दै उपाधी हा पारेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा १-१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा थ्रिस्टारका अनिल ओझा, विजय धिमाल, विकाससिंह क्षेत्रीले गोल गरे भने मनाङ मर्स्याङ्दीका समिन्द्र श्रेष्ठले मात्र गोल गर्न सकेका थिए ।

खेलको ५७ औं मिनेटमा गणेश खड्काको गोलबाट मनाङ मर्स्याङ्दीले पहिलो गोल दर्ता गराएको भएपनि थ्रिस्टारका बुद्ध चेम्जोङले खेलको ६४ औं मिनेटमा गोल फर्काएपछि बराबर भएको थियो ।