प्याज प्रतिकिलो १ सय २० रुपैयाँ


 

गाईघाट, उदयपुर – संचारमाध्यमहरुले जनाए अनुसार पछिल्लो साता प्याजको भाउ आकाशिएको छ । शनिबार सम्ममा प्याज प्रतिकिलो १ सय २० रुपैयाँ पुगेको छ । मुल्य वृद्धिसँगै गाईघाट बजारमा दुई दिनयता प्याजको बिक्रि कम हुँदै गएको छ ।

दुई साता अघिसम्म दैनिक ४० प्याकेटसम्म प्याजको बिक्री हुने गरेको भएपनि दुई दिन यता दुई प्याकेट पनि बिक्री नभएको स्थानीय व्यापारी संजीव साहले बताए । उनले भने, ‘अहिले प्याजको बिक्रि ७५ प्रतिशतले घटेको छ ।’ बजार मुल्यको वृद्धिसँगै प्याजको बिक्रि घटेकोले कतिपय ग्राहकले किन्नै छोडेको उनले बताए । एक प्याकेटमा करिव ४५ केजी हुन्छ ।

सातामा दुई किलो प्याज किन्ने ग्राहकले अहिले दुईसातामा २ सय ५० ग्राम किन्ने गरेको साहले बताए । उनले भने, ‘यसैगरि मूल्य वृद्धि हुँदै जाने हो भने अबको दुई दिनपछि प्याजको बिक्रि नै ठप्प हुन्छ ।’ दुई दिनअघि सय रुपैयाँमा बिक्रि गरेको प्याज खरिदमा नै बढि मूल्यमा भएको १ सय २० रुपैयाँमा बिक्रि गर्नुपर्ने बाध्यता रहेको उनले बताए । 

 

दैनिक सय किलो भन्दा बढि प्याज बिच्ने गाईघाट तरकारी बजारका खुद्रा व्यापारी राधे साहले  शुक्रबार दिनभरीमा ५ किलो मात्रै प्याज बेच्न सके ।  उनले भने ‘करिब एक दशक यता अहिलेको समयमा प्याजको मृल्य वृद्धि अत्याधिक भएको हो ।’ धेरैजसो मंसिर र पुस महिना प्याजको मुल्य वृद्धि हुने गरेको उनले बताए ।

 

भान्सामा अहिले प्याज छैन त्रियुगा नगरपालीका-२ कि गोमा घिमिरेले बताइन् । प्याज किन्न नसकिने भयो उनले भनिन, ‘तरकारी बजारमा सबै भन्दा महँगो लसुन र प्याज छ ।’ भारतीय बजारबाट प्याज आउन छोडेपछि मुल्य बृद्धि भएको बताइन्छ ।