सुरज भण्डारी -वरिस्ठ संचारकर्मी -बुटवल
के तपाईं बुटवलमा संचालन भैरहेको राष्टिय औद्योगिक व्यापार मेला घुम्नुभएको छ-यदि छ भने तपाईंले मेला परिसरभित्र विभिन्न खुल्ला ठाउँहरुमा बिक्रीका लागि राखिएका मम्फली -बदाम,चटपट,सुन्तला,ब्यालुन,मिनिरल वाटर आदि पक्कै देख्नुभयो । मेलामा धेरै सामग्रीहरु बिक्रीका लागि राखिएका छन्,खाद्यान्नका स्टलहरु पनि मेलामा छन् तर हरेक स्टलका धनी फरकफरक छन् ।
विभिन्न खुल्ला ठाउँहरुमा बिक्रीका लागि राखिएका बदाम,चटपट,सुन्तला,ब्यालुन,मिनिरल वाटरको हकमा भने धनी एकमात्र छन् । पोखरा ८ बंगालीटोलबाट आएका विनोद जायसवाल परिसरभित्र राखिएका यी सबै १५ वटा खुल्ला स्टलका धनी हुन् ।
धेरै कुरामा अहिले ठेकेदारी प्रथा छ,त्यसैको सिको बदामको बिक्रीमा पनि गर्दै जयसवालले मेलामा ५० हजार शुल्क तिरेर ६ ठाउँमा बदाम,५ ठाउँमा चटपट, २ ठाउँमा सुन्तला र ३ ठाउँमा ब्यालुन बिक्री स्टल राखेर बेचिरहेका छन् ।
कास्कीको लेखनाथमा चल्ने मेलामा वर्षोनि यसरी नै ठेक्का लिएर एकात्मक व्यापार प्रणालीबाट ब्यापार गर्दै आएको बताउने जयसवालले पछिल्लो पटक तनहुँको खैरेनीमा पनि ठेक्का लिएर कारोबार गरेपछि हौसला बढेको बताए । जयसवाल बुटवलमा भने पहिलो पटक यसरी कारोबार गर्न आएका हुन् । लेखनाथमा ३५ बोरासम्म बदाम बिक्री गर्ने गरेको बताउँदै जयसवालले आशावादी हुँदै भने यहाँ पनि कारोबार राम्रै हुन्छ होला । बुटवलको मेलामा ७८ लाखको कारोबार हुने आशा बोकेका जयसवालको स्थायी काम भने कवाडमा समान उठाउने हो । उनी पोखरामा बसेर कवाडको कारोबार गर्छन् । जयसवालले आफूले ठेक्का लिएर दिनगन्तीमा १६ जना कामदारसमेत राखेका छन् । दिउँसोभरि बिक्री भएको साँझ एकमुष्ठ जम्मा गर्ने गर्छु ।
उनले भने म, मेरो सहयोगी अनि कामदार गरी १८ जना यो कारोबारमा संलग्न छौं ।
बुटवलबाटै सामान खरिद गरी बिक्री गर्ने गरेका जयसवालले सोमबारमात्रै करिब २० हजारको कारोबार भएको बताए । समय बिताउनको लागि उपयुक्त बदामको बिक्री राम्रो हुने बताउँदै उनले बुटवलमा आफू पहिलो पटक आएकाले अझै यहाँको व्यापार बुझिनसकेको जनाए ।
विगतका मेलाहरुमा पनि बदाम, चटपट आदिको व्यापार गर्नेहरु हुने गरेको भए पनि अहिले व्यापारमा एक व्यक्तिलाई दिंदा सहजसमेत भएको मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष शंकर श्रेष्ठले बताए । उनले विगतमा २०/२५ वटासम्म व्यापारीहरुले व्यापार गर्ने र प्रत्येकबाट ४ हजारका दरले स्थल प्राप्त शुल्क लिइने गरेकोमा अहिले नयाँ किसिमले आएकाले एकमुष्ठ ५० हजार लिइएको जानकारी दिए ।