प्रधानमन्त्री नेपालद्धारा मदन भण्डारी स्मृति टिम ट्वान्टी क्रिकेट प्रतियोगिताका विजयी टिमलाई पुरस्कार वितरण

काठमाडौ – प्रधानमन्त्री माधवकुमार नेपालले मदन भण्डारी स्मृति टिम ट्वान्टी क्रिकेट प्रतियोगिताका विजयी टिमलाई आज पुरस्कार वितरण गर्नुभएको छ ।


मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित प्रतियोगितामा विजयी टिमलाई पुरस्कार वितरण गरेपछि प्रधानमन्त्री नेपालले खेलकुद विकासका लागि खेलकुद नीति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा उक्त प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरी बल -एपिएफ) ले सुदूरपश्चिम क्रिकेट विकास क्लबलाई ३४ रनले पराजित गर्दै उपाधि जितेको छ ।


प्रतियोगितामा अपराजित रहँदै विजयी बनेको एपिएफले उपाधिस्वरुप रु. ४० हजार र उपविजेता सुदूरपश्चिमले रु. २० हजार हात पारे ।


खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित २०  ओभरमा नौ विकेटको क्षतिमा १२६ रन जोडेको थियो ।


एकसय २७ रनको चुनौतिका साथ मैदानमा उत्रिएको सुदूरपश्चिमले २० ओभरमा आठ विकेट गुमाउँदै ९२ रन मात्र बनाएको थियो ।


विजयी टिमका लागि म्यान अफ द म्याच घोषित शक्ति गौचनले तीन विकेट लिए । त्यस्तै महबुब आलमले २७ र पारस खड्काले २० रन बनाए ।


प्रतियोगिताको म्यान अफ द सिरिज सुदूरपश्चिमका नरेश बुढाएर घोषित हुँदै रु. १० हजार हात पारे । त्यसैगरी उत्कृष्ट बलरमा सुदूरपश्चिमका भुवन कार्की र उत्कृष्ट ब्याट्सम्यान यङ्गाल क्रिकेट क्लबका सुवास प्रधान घोषित हुँदै जनही रु. पाँच हजार हात पारे ।