नायक भूवन केसी एमाले पार्टीमा औपचारिक रुपमा प्रवेश


 

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार नायक भूवन केसी एमाले पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । केसीलाई प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार राष्ट्रिय जनसाँस्कृतिक महासंघले राजधानीमा आयोजना गरेको कार्यक्रममा टिका माला लगाई स्वागत गरे ।

 

केसीले आफ्नो एमालेमा पहिलेदेखि नै झुकाव राख्दै आएको बताए । बिषेश गरी माधव नेपालसँग आफ्नो सामिप्यता रहेको उनी आफूलाई मन पर्ने व्यक्ति भएकोले पनि एमालेप्रति आकर्षण रहेको केसीले बताएका थिए ।

प्रधानमन्त्री नेपालले केसीलाई स्वागत गर्दै पार्टीमा आएको खुसी व्यक्त गरेका थिए । महासंघका अध्यक्ष विजय सुब्बाका अनुसार केसीले पहिलेदेखि नै प्रवेश गर्ने चाहना राखेको र सोमबार महासंघको स्थापना दिवशको अवसर पारेर औपचारिक स्वागत गरिएको हो । ‘उहाँले तत्काल जनपक्षिय चलचित्रकर्मी संघको सदस्यको रुपमा काम गर्नुहुनेछ’ सुब्बाले भने ।

उक्त कार्यक्रममा प्रधानमन्त्री नेपालले बर्षेनी महासंघले प्रदान गर्ने ‘जनसंस्कृति पुरस्कार-२०६७ भोजपुरी भाषका नाट्यकर्मी सलिन समदर्शीलाई प्रदान गरे । पुरस्कारको राशी २५ हजार रुपैया छ । त्यस्तै १० हजार रुपैया राशीको ‘जनसाँस्कृतिक युवा प्रतिभा पुरस्कार’ हास्यकलाकार मनोज गजुरेललाई प्रदान गरिएको थियो ।