सन्तनेता कृष्णप्रसाद भट्टराईद्वारा लिखित आत्मकथा मेरो म को विमोचन


                  प्रमुख अतिथी बनेका पाईलट बाबाले भट्टराईद्वारा लिखित आत्मकथा ‘मेरो म’ को विमोचन गरे ।  

 

ललितपुर – पाईलो सारेर हिड्न नसक्ने अबस्थाका सन्तनेता – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शुभचिन्तकहरु तिर हेरेर भने, ‘सय बर्ष बाँच्न पाउँ ।’ जिन्दगीका ८७ औं हिउँद पार गरेका भट्टराईले आफुलाई जन्म दिनको शुभकामना दिन शनिबार आएकाहरुसंग ठट्यौलो पारामा थपे ‘बाँच्न मन कसलाई हुँदैन ?’

उनलाई शुभकामना दिन राष्ट्रपति रामवरण यादव शनिवार विहानै आश्रममा पुगेरका थिए ।  भट्टराईको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उनले उपहार समेत टक्र्याए । ब्राहृमणहरुले आश्रममा रुद्रीपाठ र स्वस्तिशान्ति सहित औपचारिक कार्यक्रम शुरु गरेका थिए । विहानै बाडेगाउँस्थित भट्टराईको सरकारी  आश्रममा चहलपहल सुरु भएको थियो ।

भट्टराईलाई जन्मदिनको शुभकामना दिन प्रधानमन्त्री माधव कुमार नेपाल, पूर्व प्रधानमन्त्रीहरु सूर्यबहादुर थापा, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, किर्तिनिधी विष्ट, कांग्रेस सभापति सुशिल कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल, नेता केपी ओली, सुरक्षा निकायका अधिकारीहरु, पूर्वप्रशासक तथा उच्च पदस्थ सरकारी कर्मचारी लगायत आएका थिए ।

दिउँसो एक बजेदेखि शुरु भएको औपचारिक कार्यक्रममा भट्टराईले शुभचिन्तकहरुलाई हँसाइरहे । प्रधानमन्त्री माधव कुमार नेपालले दोसल्ला र गलबन्दी सहित नयाँ गाडीको साँचो थम्याएपछि भट्टराईले सोधे, ‘यो गाडी मलाई नै हो ?’ ‘हो’ भन्ने जवाफपछि उनले साँचो हल्लाउँदै सबैलाई देखाइरहे । एक सहभागीले ‘अझै प्रधानमन्त्री हुने सम्भावना छ’ भनेर फुक्याईदिएपछि भट्टराईले फुरुङ्ग पर्दै फेरी भने, ‘लौ लौं हुन्छ ।’ उनलाई कार्यक्रमको प्रमुख अतिथी बनेका पाईलट बाबाले भट्टराईद्वारा लिखित आत्मकथा ‘मेरो म’ को विमोचन गरे ।