काठमाडौ – राजधानीमा जारी महिला राष्ट्रिय क्रिकेट अन्तर्गत भैरहवा र जनकपुरधामले जीत हासिल गरेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसको क्रिकेट मैदानमा भएको पहिलो खेलमा वीरगञ्जलाई ७९ रनले हराउँदै जनकपुरधामले पहिलो जित हासिल गरेको हो ।
पहिला ब्याटिङ गरेको जनकपुरले कविता गौतमको सर्वाधिक ३५ रनको योगदानमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको वीरगञ्जका कुनै पनि ब्याट्सम्यान दोहोरो अंकको रन नजोड्दै आउट भएपछि ऊ १४ ओभरमा अल आउट हुँदै ४८ रनमा खुम्चिएपछि जीत जनकपुरको पोल्टामा गएको हो ।
प्रतियोगिता अन्तर्गत दोश्रो खेलमा काठमाडौले भैरहवासामु २२ रनको पराजय आत्मसात गर्यो । पहिला ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२० रन जोडेको थियो । भैरहवाका लागि मधु थापाले सर्वाधिक ४१ रन जोडिन् । जितका लागि १२१ रनको लक्ष्य पछ्याएको काठमाडौ निर्धारित ओभरमा ९ विकेटको क्षतिमा ९८ रन बनाउन समर्थ भयो र पराजय स्वीकार्न बाध्य भयो ।
प्रतियोगिता अन्तर्गत भोलि नेपालगञ्ज र वैतडी तथा विराटनगर र पोखरा भिड्ने कार्यक्रम छ । यस अघि हिजोको पहिलो खेलमा भैरहवाले जनकपुरधामलाई ७ विकेटले हराएको थियो भने अर्को खेलमा काठमाडौले वीरगञ्जलाई ९ विकेटले हराएको थियो ।