काभ्रे – प्राप्त समाचार अनुसार सभामुख सुवासचन्द्र नेम्वाङले पुस २८ गते भित्र पनि प्रधानमन्त्री चयन हुन नसकेको अवस्थामा अहिलेको प्रधानमन्त्री चयनको सबै प्रक्रियाहरु अन्त्य हुने बताएका छन् ।
दलहरुका सामु निर्धारित समयवाधि भित्र प्रधानमन्त्री चयन गर्न वा अहिलेका सबै प्रक्रियाहरु अन्त्य गरि प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया थालनी गर्ने मात्रै दुई विकल्प रहेको उनले उल्लेख गरे ।
‘पुस २८ गते भित्रै प्रधानमन्त्री चयन गर्नको लागि दलहरु बीच सहमती हुनु पर्दछ’ राष्ट्रिय सहकारी बैंक लिमिटेडको साधारण सभा उद्घाटन गर्न शनिवार बनेपा आईपुगेका नेम्वाङले भने, ‘दलहरु बीच निर्धारित समयावधि भित्र पनि सहमती हुन नसकेमा अहिलेका सबै प्रक्रियाहरु अन्त्य हुन्छ ।’
आइतवार बस्ने दलहरुको शिर्ष नेताको बैठकले प्रधानमन्त्री चयनको सम्बन्धमा निष्कर्ष निकाल्नु जरुरी रहेको बताउँदै उनले बैठकले निष्कर्ष निकाल्नेमा आफु आशावादी भएको बताए ।
राष्ट्रसंघीय मिसन (अनमिन) फर्किन एक सातामा मात्र बाँकी रहेको अवस्थामा जारी शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन दलहरु बिच सहमती भई विश्वास्त लडाकु समायोजन समिति बनाउनु पर्नेमा उनले जोड दिए ।
नेम्वाङले आइतवारसम्ममा दलहरु बीच सहमती गर्न आग्रह गरे । संविधान सभाको विकल्पमा अन्य ठाउँबाट पनि संविधान जारी गर्न सकिन्छ भनेर केही दिन अगाडी केही पार्टीका नेताहरुबाट आएको अभिव्यक्तिलाई प्रतिवाद गर्दै उनले संविधानसभा मार्फत नै संविधान जारी हुनुपर्ने र यसको लागि पनि दलहरु मिलेर जानुको कुनै विकल्प नभएको बताए ।



