काठमाडौ – मुम्बईमा थलिएका गायक कुमार कान्छाको उपचार सहयोगका लागि धमाधम रकम जुट्दै छ । बुधबार अभिनेत्री नम्रता श्रेष्ठले ३ लाख २८ हजार रुपैयाँ सहयोग घोषणा गरिन् । यो रकम केहीअघि उनकै पहलमा पाटन म्युजियममा आयोजित कन्सर्टमार्फत जम्मा भएको थियो । ‘यसैमा पाइलट विकास राणाले प्रदान गरेको २५ हजार रुपैयाँ पनि जोडिएको छ,’ कन्सर्टबाट उठेको रकम घोषणा गर्न बुधबार आयोजित पत्रकार भेटघाटमा नम्रताले भनिन्, ‘मुलुकका धरोहरलाई बचाउन गरिएको अभियानलाई जसरी सहयोग मिल्यो, त्यसले हामीलाई हौस्यायो ।’
संकलित रकम बिहीबार बिहानै मुम्बईस्थित कान्छाका परिवारलाई पठाउन लागिएको उनले बताइन् । ‘सहयोग पठाउन लागिएको कुराले परिवार एकदमै हषिर्त छन्,’ नम्रताले थपिन् । चार महिनाअघि स्पाइनल कर्डको अप्रेसन गर्दा दुवै खुट्टा नचल्ने गरी पक्षघात भए पनि गायक कान्छा मुम्बिईस्थित रहेजा अस्पतालमा उपचाररत छन् । उनले आफ्नो गायनबाट कमाएको सबै सम्पत्ति उपचारमा सकेका र अब फेरि तंगि्रएर गाउन चाहेको बताउँदै यूट्युबबाट नेपालीलाई सहयोगको आग्रह गरेका थिए ।