पाल्पा – मध्यरात प्रहरी जवानको कोठामै छिरेर प्रहरीको श्रीमतीलाई करणीको प्रयास गर्ने नेपाली काँग्रेसका एक सक्रिय कार्यकताले रु २८ हजार जरिवाना तिरेका छन् ।
पाल्पाको सदरमुकाम तानसेन शिल्खानटोल निवासी कांग्रेस कार्यकर्ता अन्जन ज्ञवालीले महिलालाई करणी गर्ने प्रयास गरेकोले घटनालाई सार्वजनिक नगर्ने सहमतिमा उनले रु २८ हजार जरिवाना तिरेका हुन् ।
प्रहरी अधिकारीको रोहवरमा गोप्य रूपमा सहमति गराई घटना गुपचुप राखिएको थियो । कांग्रेस पाल्पाको दबाबमा घटनालाई गुपचुप गर्न खोजिए पनि दुई दिन पछि घटना सार्वजनिक भएको हो ।
पाल्पाको प्रभासस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवानका श्रीमतीलाई करणीको प्रयास गर्ने अभियुक्त ज्ञवालीलाई नेपाली काँग्रेसका जिल्ला नेताको दबाबमा प्रहरीले हिरासतमा राखेको दुई दिनमै छाडिदिएको स्रोतले बताएको छ ।
प्रहरी जवानकी श्रीमतीलाई तानसेन शिल्खानटोल निवासी कांग्रेसका सक्रिय कार्यकर्ता ज्ञवालीले कोठामा छिरेर जबर्जस्ती करणीको प्रयास गरेको पीडितको भनाइ छ ।
तानसेनस्थित कोठामा एक्लै रहेको समयमा प्रहरीको श्रीमतीलाई राति ११ बजे मदिराले लट्ठिएर पुगेका ज्ञवालीले कोठामा प्रवेश गरी लछारपछार पार्दै करणीको प्रयास गरेका थिए ।
पीडित महिलाले प्रतिकार गरेर हार गुहार मागेपछि स्थानियवासीहरू जुटेर ज्ञवालीलाई समाती जिल्ला प्रहरी कार्यालय पाल्पामा बुझाइएका थिए ।
अनैतिक कार्य नगरेको भए पनि अर्काको कोठामा प्रवेश गरेको भनी सजायस्वरूप अभियुक्त ज्ञवालीलाई रु २८ हजार आर्थिक दण्ड दिलाइएको पाल्पाका प्रहरी नायब उपरिक्षक पवनकुमार गिरीले बताए । रासस



