थारु समुदायको नवलपरासीको गोडारमा जैविक विविधता एवम् खिचडी महोत्सव सुरु

Nawalparasi_Inaguration-

 

कावासोती – थारु समुदायको नयाँ वर्ष सुरुको अवसर पारेर आजदेखि नवलपरासीको गोडारमा जैविक विविधता एवम् खिचडी महोत्सव सुरु भएको छ ।


विगतमा हरूवाचरुवाका रुपमा काम गर्ने थारुहरूले समेत आजदेखि तीन दिनसम्म बिदा पाउने भएकाले थारु समुदायले यो पर्वलाई धुमधामका साथ मनाउने गरेका छन् ।


पर्यटन वर्ष २०११ को शुभारम्भसँगै नवलपरासीको थारु भिजेलमा पर्यटक भित्र्याउने गरी खिचडी महोत्सव सुरु गरिएको स्थानीय युगबहादुर महतोले बताउनुभयो ।


महोत्सवमा थारु समुदायका खाद्य परिकारहरू राखिनेछ ।  महोत्सवको नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले उद्घाटन गर्नुभयो ।


अग्यौलीमा रहेको आदिवासी तथा थारु सङ्ग्रहालयको हाताभित्र भएको महोत्सवमा थारु समुदायका खाद्य परिकार एवम जैविक विविधतासम्बन्धी स्टलहरू राखिएका छन् ।


कला र संस्कृति राष्ट्र तथा राष्ट्रियताको सम्पत्ति भएकाले त्यसको संरक्षणमा आफूहरू लागिपरेकाले महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक इनरबहादुर महतोले बताउनुभयो ।


महोत्सवमा चिर्चर, माछा, घोगी, नुन खुर्सानी, माछा मार्दा प्रयोग हुने सामग्री, थारु समुदायले दैनिक जीवनमा प्रयोग गर्ने सामग्रीहरू राखिएका छन् ।