हतियारधारी समूहद्बारा ललितपुरको जावलाखेलस्थित स्ट्यान्डर्ड चार्टर बैंक कब्जागरी १४ लाख रुपैयाँ लुटपाट

हतियारधारी समूहले शुक्रबार अपरान्ह ललितपुरस्थित एक बैंकबाट १४ लाख रुपैयाँ लुटपाट गरेका छन् । मोटरसाइकलमा आएको तीन जनाको हतियारधारी समूहले ललितपुर जावलाखेलस्थित स्ट्यान्डर्ड चार्टर बैंकबाट १४ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ ।

 

संचारमाध्यमहरुले जनाए अनुसार हतियारधारी समूहले ललितपुरको जावलाखेलस्थित स्ट्यान्डर्ड चार्टर बैंक कब्जागरी १४ लाख रुपैयाँ लुटपाट गरेको छ। १ बजे मोटरसाइकलमा आएका दुई जनाले ग्राहकको रुपमा बैंकभित्र प्रवेश गरी पेस्तोल देखाएर लुटपाट गरेका हुन्।

 

‘दुई जना लुटेरामध्ये एकले पेस्तोल देखाइ सुरक्षा कर्मचारीतर्फ सोझ्यायो’, एक बैंक प्रत्यक्षदर्शीले नागरिकन्युजलाई भने- अर्कोले काउन्टरको पैसा उठाएर झोलामा हाल्यो।’ लुटपाट हुँदा बैंकमा ग्राहकको संख्या बाक्लै थियो।

झन्डै १० मिनेटभित्रमा काउन्टरको सबै पैसा कब्जा गरी उनीहरु मोटरसाइकलमा भागेको ललितपुर प्रहरीका एसपी माधव नेपालले बताए।

ग्राहकबाट संकलन गरेको एवं ग्राहकलाई दिनका लागि राखेको ‘ओपन काउन्टर’को पैसा लुटपाट भएको हो। लुटेराले चलाएको मोटरसाइकल नम्बर प्रत्यक्षदर्शीले पहिचान गरेका छन्। बा २१ व २८५६ नम्बरको मोटरसाइकल लुटेराले प्रयोग गरेको भन्दै अहिले प्रहरीले लुटेराको खोजी तीब्र पारेको छ।