थारु समूदायको नयाँ वर्ष एवम् ठूलो पर्व माघीको दोस्रो दिन थारु समूदायले माघीदेवानी मनाउँदै


 

कैलाली – थारु समूदायको नयाँ वर्ष एवम् ठूलो पर्व माघीको दोस्रो दिन आज थारु समूदायले माघीदेवानी मनाउँदैछन् । माघी डेवानी अन्तर्गत घरायसी कामकाज र सामूहिक कामकाजका बारेमा छलफल गर्ने गर्दछन् ।


घरका सबै परिवार जम्मा भएर घरमा गरेका कामकाजको राम्रोनराम्रो पक्षका बारेमा छलफल गर्दछन् । घरमूलीले गरेका कामका बारेमा समीक्षा गर्दै आफूलाई चित्त नबुझेका कुराहरु राख्ने परम्परा रहेको छ ।


घरमा गरधुरिया कसलाई बनाउने, विवाह कसको गर्ने नगर्ने, खेत कति लगाउने, कसको खेत लगाउने, घरमा काम गर्ने मान्छे राख्ने नराख्ने, घरको लेनदेन कसले गर्ने, साहू महाजनसँग कसले व्यवहार गर्ने, घरमा भान्सा कुनकुन बुहारीले आलापालो गर्ने, घरमा सँगै बस्ने अथवा घर फुट्ने तथा आगामी वर्षमा घरमा के के गर्ने भन्ने योजनाहरु बनाउने गरिन्छ ।


माघी डेवानीमा आगामी वर्षमा गाउँको योजनाहरु के के बनाउने भन्ने विषयमा छलफल तथा बहस सुरु गरिन्छ । आज दोस्रो दिन महिलाहरुले झुण्ड झुण्ड भएर माघी मनाउने गर्दछन् । आजको दिन महिलाहरुले कुनै पनि काम नगरी माघी मान्ने काम गर्दछन् भने पुरुषहरुले घरका सम्पूर्ण कामहरु गर्ने परम्परा रहेको छ ।


माघीको दास्रो दिन आज महिलाहरु आफ्ना सँगीहरुसँग मिलेर नाँचगान गर्ने माघी मनाउने परम्परा रहेको छ ।