मुख्य विपक्षी एकीकृत माओवादीद्बारा प्रचण्डलाई नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्दै नयाँ सरकार आफ्नै दलको नेतृत्वमा हुनुपर्ने अडान

– माओवादीले प्रचण्डलाई नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ – – आइतबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्ने निर्णय भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । माओवादी नेतृत्वमा सरकार बन्ने अवस्था नआए विकल्पबारे भने छलफल नभएको उनले बताए ।


राष्ट्रपति रामवरण यादवले सात दिनभित्र सहमतिको सरकार बनाउन दलहरुलाई आव्हान गरेको भोलिपल्ट, आईतबार, आफ्नै नेतृत्वमा त्यस्तो सरकार बन्नुपर्ने अडान प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले दोहोर्‍याएको छ।


दुई ठूला सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा एमालेले कम्तिमा लडाकू व्यवस्थापन नभई उसको नेतृत्व नस्वीकार्ने बताएका छन्।


अडिग


राष्ट्रपतिले दिएको सातदिने म्यादको पहिलो दिन वित्दापनि मुख्यदलहरुबीच सहमति निर्माणको परिणाममूलक छलफल भएन।


बरु आईतबार बसेको स्थायी समितिको बैठकपछि प्रतिपक्षी माओवादीले पुरानै अडानमा आफुहरु अडिग रहेको बतायो।