
त्यसअघि गोरेगाउँस्थित घरमा ल्याएर श्रद्धाञ्जली कार्यक्रम गरिएको थियो ।
श्रद्धाञ्जलीमा संगीतकार रञ्जित गजमेर, गायक तथा अभिनेता मुरलीधर, गायिका जमुना शर्मा, संगीतकार शिखर सन्तोषलगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
कुमार कान्छाको शबलाई दाहसंस्कारको लागि लैजाँदै गर्दा सयौं नेपाली सहभागी थिए । ‘जिन्दगीको के भर छ र…’, ‘बतासले उडाइलग्यो माया मेरो…’, ‘आमैले भन्थिन् धाराको पानी…’ लगायत चर्चित गीतका गायक कुमार कान्छाको ५३ वर्षको उमेरमा मुम्बईको माहिमस्थित एसएल रहेजा अस्पतालमा सोमबार निधन भएको थियो ।
एक सयभन्दा बढी नेपाली चलचित्रमा गीत गाएका कान्छाले ‘कोसेली’ र तुलसी घिमिरे निर्देशित चर्चित नेपाली चलचित्र ‘लाहुरे’मा अभिनयसमेत गरेका छन् । सन् १९५७ जुलाई २३ मा कोलकातामा जन्मिएका कान्छाको पुख्यौली घर दैलेख हो । बुबा मानबहादुर शाह र आमा तुलसीदेवी शाहका एक्ला छोरा कुमारले सानै उमेरदेखि सबैले मायापूर्वक ‘कान्छा’ भनेर बोलाएकाले शाह थर हटाएर ‘कान्छा’ उपनाम राखेका थिए ।



