नेपाल राष्ट्र बैंकले आगामी फागुन मसान्तभित्र पुराना नोटको प्रतिस्थापन गरिसक्ने नीति

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आगामी फागुन मसान्तभित्र पुराना नोटको प्रतिस्थापन गरिसक्ने नीति लिएको बताएको छ ।


नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागद्वारा आज यहाँ आयोजित सफा नोट नीति तथा जाली नोट पहिचान सम्बन्धमा गरेको एक दिने गोष्ठीमा झुत्रा नोटको प्रतिस्थापन गर्ने सरकारको नीतिअनुरूप पुराना नोटको प्रतिस्थापन गर्न लागिएको हो ।


कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले झुत्रा नोटको प्रयोगका कारण राज्यको इज्जतमा समेत असर परेको भन्दै यसको प्रयोगलाई निरुत्साहित गर्न सो कदम चालेको बताउनुभयो ।


उहाँले नेपाल राष्ट्र बैंकको प्राविधिक र अन्य वाणिज्य बैंकको हेलचेक्याइका कारण पुराना नोटको व्यवस्थापनमा कठिनाइ भएको बताउँदै अब यसको कार्यान्वयनमा कडाइ गर्नुपर्छ भन्नुभयो ।


गभर्नर खतिवडाले नेपालमा अधिकांश अनौपचारिक रुपमा रहेका नोटलाई बंैकिङ प्रणालीमा ल्याउनुपर्नेमा जोड दिँदै यस्ता नोटलाई बैंकिङ प्रणालीमा ल्याउन सकेमा झुत्रानोटको व्यवस्थापन गर्न केही सहज हुने बताउनुभयो ।


अहिले नेपालको कुनै स्थानमा ढुकुटी प्रथा रहिआएको र यसले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएकाले यसको पैसा कसैले बदमासी गरेमा कारबाही गर्ने कानुनी आधार नहुने भएकाले यसको निरुत्साहित गरी बैंकिङ प्रणालीमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।


त्यसैगरी बैंकर्स एसोसिएसनका अध्यक्ष शशिन जोशीले नेपालमा मुद्राको कारोबार बढी भएकाले झुत्रा नोटको प्रतिस्थापन गर्न कठिनाइ भइरहेको अवस्थामा सर्वसाधारणले पैसाको कारोबार चेक र इलेक्ट्रोनिक माध्यमबाट गर्नुपर्ने र यसो गरेमा सहजै सो समस्याको व्यवस्थापन गर्न सकिने बताउनुभयो ।


उहाँले मुद्रा सञ्चितिमा राष्ट्र बैंकलगायतका सरकारी बैंकको मात्र एकलौटी अधिकार भएकोले अन्य निजी क्षेत्रका बैंकलाई असहज भएको बताउँदै त्यो अधिकार अन्य बैंकलाई पनि दिनुपर्छ भन्नुभयो ।


त्यसैगरी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अश्विनीकुमार ठाकुरले नेपाली नोटमा ठूला नोटको आयु डेढवर्ष र साना नोटको आयु एकवर्ष भएकाले राजा अङ्कित नोटको प्रतिस्थापन गर्नुको विकल्प नरहेको जानकारी दिनुभयो ।


उहाँले नेपालमा हुने गरेका जाली नोट चिन्नका लागि नोटमा भिन्नै किसिमको सुरक्षा मापदण्ड अपनाउन लागेको जानकारी दिँदै यसका लागि सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।