राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीद्बारा संघीयता विरोधी अभियानमा आक्रमण भए पनि पछि नहट्ने उल्लेख

– दिलीप पौडेल, नागरिक

 

वाग्लुङ – राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले संघीयता विरोधी अभियानमा आक्रमण भए पनि पछि नहट्ने बताएका छन्। संघीयता बिरोध गर्दा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको उल्लेख गर्दै केसीले भने आफ्नो अभियानबाट पछि नहट्ने जनाए।

 

‘मुलुक संघीयतामा गएमा खण्डन हुने निश्चित छ’, केसीले भने- ‘जातीय तथा क्षेत्रीय संगठन अराजक बन्दै गएका छन्।’ राष्ट्रिय जनमोर्चाले आयोजना गरेको जनअभियान अर्न्तगत बागलुङमा आयोजना गरेको जनसभालाई शनिवार सम्बोधन गदै केसीले भने, ‘ संघियतामा गए मुलुक टुक्रने निश्चीत भएकोले राष्ट्रिय जनमोर्चाले देश बचाउनका लागि अभियान थालेको हो।’


संघीय प्रणाली लागू गर्नको लागि नेपालमा पूर्वाधार नभएको केसीको दावी छ।


केसीले प्रमुख तीन दलका कारण संबिधान निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको आरोप लगाए। ‘प्रमुख तीन दल संविधान निर्माण भन्दा सत्ता लिप्सामा लागेका छन्,’ केसीले भने, ‘संविधानको प्रमुख मुद्दालाई छाड्दा शान्ति र गणतन्त्रको संस्थागत गर्ने विषयमा आशंका उत्पन्न भएको छ।’


जनमोर्चाको अभियानको गणतन्त्र, राष्ट्रियत र शान्तिको पक्षमा तथा संघीयताका विरुद्धमा भएको समेत केसीले स्पष्ट पारे। माओवादीको सत्ता लिप्सा र एमालेको ढुलमुले प्रवृत्तिले सरकार निर्माण प्रक्रिया अगाडि बढ्न नसको समेत उनको दावी थियो।


सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष मनोज भट्टले आन्दोलनबाट प्राप्त भएका उपलब्धि राजनीतिक दलको सत्तामोहका कारण संस्थागत हुन नसकेको बताए।