गायक कुमार कान्छाको उपचारका लागि बेलायतमा बस्ने नेपाली कला साहित्य र सङ्गीत पारखीहरूले आर्थिक सहयोग गर्ने उद्देश्यले सङ्कलन गरेको एकलाख एक रुपैया कान्छाको परिवारलाई प्रदान गरिएको छ ।
नेपाली कल्चर एन्ड वयलफिएर, बेलायत नामक संस्थाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सेफिल्ड विश्वविद्यालयका प्रा डा पदम सिंखडाले सो रकम परिवारजनमा पुर्याइदिनका लागि नायक राजेश हमाललाई प्रदान गर्नुभयो ।
सो अवसरमा नायक हमालले नेपाली कलाकारहरूको योगदानलाई राज्यले कुनै सद्भाव र सहयोग नगरेको स्मरण गर्दै बेलायतमा बस्ने नेपालीले गायक कान्छाको योगदानको कदर गरी आर्थिक सहयोग गर्नु महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले नेपाली कला क्षेत्रमा महत्वपर्ण योगदान पुर्याएका कलाकार गोपाल भुटानी, कुमार कान्छाको योगदानलाई कदर गर्दै सरकारले उनीहरूको उपचारमा कुनै सहयोग नगरी मृत्युपश्चात् शोकसन्देश मात्र दिएको गुनासो गर्नुभयो ।
नेपाली गायक/गायिकाहरू विवेक श्रेष्ठ, शर्मिला बर्देवा र नारायण धितालले आ-आफ्नो कला प्रस्तुत गरी सो रकम सङ्कलन गरेको संस्थाका प्रमुख दिपेश रेग्मीले जानकारी दिनुभयो ।
रकम सङ्कलन गर्दागर्दै गायक कान्छाको मुम्बईको अस्पतालमा उपचारका क्रममा निधन भएकोमा नेपाली सङ्गीतप्रेमी मर्माहत भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
संस्थाका प्रमुख रेग्मीले कुमार कान्छा नेपाली कला संस्कृति र सङ्गीतका नमूना पात्र रहेको र सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने बताउनुभयो ।