राजधानीको भृकुटी मण्डपमा १७ औँ सूचना प्रविधि प्रदर्शनी तथा सम्मेलन इन्फोटेक सुरु


 

काठमाडौ – राजधानी काठमाडौको भृकुटी मण्डपमा १७ औँ सूचना प्रविधि प्रदर्शनी तथा सम्मेलन (इन्फोटेक)को मंगलबार सुरु भएको छ । छ दिनसम्म जारी रहने प्रदर्शनीको प्रधानमन्त्री माधवकुमार नेपालले उद्‌घाटन गरेका हुन् ।

 

प्रदर्शनीमा विश्व बजारमा आएका पछिल्लो संस्करणका सूचना प्रविधिजन्य सामग्री राखिएका छन् । साथै सूचना विज्ञहरूले विद्युतीय सुशासनका विषयमा जानकारी पनि दिनेछन् ।

 

करिब चारलाख जिज्ञासुले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा आकर्षक रुपमा ट्याब्लोइड पिसी नेटबुक ल्यापटप कम्प्युटर, मोबाइल सेटलगायत कम्प्युटर हार्डवेयर एवम् सफ्टवेयर पनि रहेका छन् ।

 

सम्मेलनमा सूचना प्रविधिका विषयमा नेपालले लिनुपर्ने नीति, अहिलेसम्मको समस्या जस्ता विषयमा नौवटा कार्यपत्र प्रस्तुत समेत हुनेछन् ।

 

क्यान इन्फोटेक प्रदर्शनीलाई नेपालमा सूचना प्रविधिको क्षेत्रमा सबैभन्दा ठूलो प्रदर्शनीको रुपमा लिइने गरिन्छ । प्रदर्शनी अवलोकन गर्न सर्वसाधारणका लागि रु ५० र विद्यार्थीका लागि रु ३० राखिएको छ ।

 

प्रधानमन्त्री नेपालले सबै मन्त्रालयहरूका काम विद्युतीय सुशासनमार्फत गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए । उनले यसका लागि एकीकृत तथ्याङ्क स्थापना भइसकेको छ, तथ्याङ्कअनुरुप मन्त्रालयहरूले काम पनि गर्न थालेका पनि बताए ।

 

देशका सबै जिल्लामा अप्टिकल फाइवरको सञ्जाल पुर्‍याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिराखेको जानकारी दिँदै प्रधानमन्त्री नेपालले सामुदायिक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षा प्रदान गर्ने सुरुवात पनि भइसकेको बताए ।

 

सो अवसरमा उनले प्रदर्शनीमा राखिएको सूचना प्रविधि वस्तुहरूको अवलोकन पनि गरेका थिए । सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले ग्रामीण दूर सञ्चार कोषमार्फ अप्टिकल फाइवर पुर्‍याउन सरकारले जोड दिएको र दक्षिण एसियालाई अप्टिकल फाइवरले जोड्ने कामको पनि सुरुवात भइसकेको बताए ।

 

क्यानका अध्यक्ष सुरेशकुमार कर्ण, महासचिव नारायण न्यौपाने, सचिव अमृतकमार पन्तले सूचना प्रविधि प्रदर्शनी तथा सम्मेलनले सूचना प्रविधिका क्षेत्रमा नयाँ आयम थप्ने विश्वास ब्यक्त गरे ।