रुपन्देही उद्योग सङ्घले आन्दोलनस्वरुप उद्योग व्यवस्थापन कार्यालयमा लगाएको ताला खुल्यो

रुपन्देही उद्योग सङ्घले आन्दोलनस्वरुप बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा गत माघ १७ गतेदेखि लगाइएको ताला खुलेको छ ।


बुटवल औद्योगिक क्षेत्रभित्र अवस्थित बुटवल धागो कारखानाले ओगटेको १४४ रोपनीमध्ये ३७ रोपनी जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले अपारदर्शी एवम् अनियमित ढङ्गबाट वितरण गर्न लागेपछि सोको विरोध गर्दै तालाबन्दी गरिएको थियो ।


रुपन्देही उद्योग सङ्घ र बुटवल औद्योगिक क्षेत्रले जग्गा वितरण प्रक्रिया अपारदर्शी भएकाले सोको सम्पूर्ण प्रक्रिया बदर गर्नुपर्ने, उक्त कार्यमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने र जग्गा वितरण गर्दा यस क्षेत्रका सङ्घसंस्था र उद्योगीसँग सहकार्य गर्नुपर्नेलगायतका माग राखी आन्दोलनमा उत्रिएका थिए ।


रुपन्देही उद्योग सङ्घ र बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घले गरेको आन्दोलनप्रति रुपन्देही जिल्लाका व्यावसायिक सङ्घसंस्था तथा राजनीतिक दलहरूले समेत ऐक्यबद्धता जनाएका थिए ।


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आइतबार एक पत्र लेखी जग्गा वितरण प्रक्रियाको सम्पूर्ण कार्य बदर गरेको र आगामी दिनमा यस क्षेत्रका सङ्घसंस्था र उद्योगीसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको थियो ।


औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा आयोजित एक कार्यक्रममा रुपन्देही उद्योग सङ्घका अध्यक्ष एजाज आलमले जग्गा वितरणमा संलग्न व्यक्तिहरूलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।


कार्यक्रममा बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घका अध्यक्ष तिलप्रसाद भट्टराई तथा बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका व्यवस्थापक भोजराज विनाडीलगायतले बोल्नुभएको थियो।