मिरपुर – उपाधिको बलियो दावेदार मानिएको भारतले विश्वकप २०११ को उद्घाटन खेलमा सजिलो जित हात पारेको छ । उसले समूह ‘बी’ को लिग चरणको खेलमा बंगलादेशलाई ८७ रनले पराजित गर्यो । विश्वकपमा भारतले बंगलादेशलाई हराएको यो पहिलो पल्ट हो ।
पछिल्लो विश्वकपमा बंगलादेशसँगै पराजित हुँदै भारत प्रतियोगिताबाट बाहिरिएको थियो । यसपल्ट भने भारतले त्यसको बदला लिन सफल रह्यो । बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दियो र त्यसयता खेलबाट उसले पकड गुमाएको थियो ।
भारतले वीरेन्द्र सहवाग र विराट कोहलीको शतकको मदतले चार विकेट गुमाएर ३ सय ७० रन बनायो । प्रत्युत्तरमा बंगलादेशले नौ विकेट गुमाएर २ सय ८३ रन मात्र बनाउन सक्यो । बंगलादेशले राम्रो सुरुआत लिएपनि कुनै पनि समय आवश्यक रन-रेट पछ्याउन सकेन् ।
सहवागले यसपल्टको विश्वकपको पहिलो शतक प्रहार गरे । पहिलो विश्वकप खेलिरहेका कोहली ठीक सय रन बनाएर नटआउट रहे । सहवागले १४ औं वन डे शतकका लागि ९४ बलको उपयोग गरे । उनको १ सय ७५ रनको मदतले भारतले विशाल स्कोर बनाए ।
त्यसमा १४ चौका र पाँच छक्का सामेल थियो । उनले छक्काको मदतले अर्धशतक पूरा गरेका थिए । बंगलादेशविरुद्ध सहवागको यो पहिलो शतक हो । विश्वकपमा भने उनको यो दोस्रो शतक हो । उनीसँगै प्रारम्भिक ब्याटिङ जोडीका रूपमा आएका सचिन तेन्दुलकर २८ रन बनाएर रनआउट भए । त्यसयता गौत्तम गम्भीरले ३९ रन बनाए ।
कोहलीले सय रनका लागि ८३ बलको मात्र उपयोग गरे । त्यसमा आठ चौका र दर्ुइ छक्का सामेल थियो । बंगलादेशी प्रारम्भिक ब्याट्सम्यान तमिम इक्वालले र्सवाधिक ७० रन बनाए । यस्तै कप्तान सकिब अल हसनले ५५ रन बनाए । भारतीय बलरमध्ये मुनाफ पटेल र्सवाधिक सफल रहे र उनले ४८ रन खर्चेर चार विकेट लिए । – एएफपी



