विश्वविख्यात गायक ब्रायन एडम्सद्वारा पहिलोपटक काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको कन्सर्ट सम्पन्न


 

 विश्वविख्यात गायक ब्रायन एडम्सले आफ्नो प्रस्तुतिसँगै नेपाल अब सम्पूर्ण संगीतकर्मीहरूका निम्ति खुला भएको घोषणा गरेका छन्। ‘मैले थाहा पाएसम्म पहिलो पटक यहाँ यस्तो कन्सर्ट आयोजना भएको हो,’ दर्शकको निरन्तर तालीबीच उनले शनिबार भने, ‘र, अब विश्वास गर्छु, यससँगै विश्वभरका रक गायकहरूको प्रस्तुतिले निरन्तरता पाउनेछ।’

 

सरल शब्दबाटै गम्भीर भाव दिने गीतका कारण गैर अंग्रेजीभाषी माझ सर्वाधीक चर्चित ब्रायन नब्बेको दशकमा विश्वकै सबैभन्दा मन पराइएका गायकमध्ये थिए। यी ५१ वर्षे क्यानेडेली गायकको बेग्लै स्वाद बोकेको ‘हस्की’ स्वर नक्कल गरेर गाउनेहरू लगभग सबैजसो मुलुकमा भेटिने गर्छन्। अहिले पनि उत्तिकै लोकप्रिय उनका गीत सजिलै बुझिने भएकाले अंग्रेजीका नियमित श्रोताबाहेक पनि ठूलो संख्याले उनलाई सुन्ने गर्छ।

 

रेकर्ड सुनेरै ‘फ्यान’ भएका झण्डै २० हजार दर्शकले भरिएको दशरथ रंगशालामा ब्रायनले दुई घन्टाकै बीच आफु उत्तिकै सशक्त स्टेज प्रस्तोता पनि रहेको साबित गरे। सुरुमै त्यसको छनक उनले काठमाडौंसँग जोडिएको एउटा पुरानो गीत सुनाएर दिएका थिए।

 

बब सेगरको ‘आइ एम गोईंग टु काठमाडौं’ का भावले अमेरिकी जीवनबाट बाहिरिनेहरूका निम्ति यो पहाडी मुलुक कति प्रिय छ भन्ने उल्लेख गर्छ। तर, ब्रायनको यो गीत छनौट केवल दर्शक प्रभावित पार्न मात्र नभएर उनको आफ्नै मनको अभिव्यक्ति थियो भन्ने पुष्टि पछिसम्मकै व्यवहारले देखाएको थियो।

 



त्यसले दर्शक मनलाई कतिसम्म हल्लाएको थियो भने बारम्बार सबैको हात हातमा मोबाइल फोनको झिसमिसे बत्ती ताल मिलाएर ढल्कँदै गर्दा सम्पूर्ण रंगशाला नृत्यरत देखिन्थ्यो। ठीक पूर्वी आकासमा पूर्ण चन्द्रमा र अर्कोतर्फ मैदानको मध्यमा चम्किलो स्टेज बीचको यो रमणीय दृश्यलाई उनी शब्द र स्वरले झनै सिंगार्दै थिए