विश्व हिन्दु महासंघ नेपालका राष्ट्रिय समिति अध्यक्ष एवं पुर्वमन्त्री भोलानाथ झाको हिजो विहान त्रि. वि. शिक्षण अस्पतालको सघन कक्ष (आइसियु) मा उपचारकै क्रममा मृत्यु भएको छ ।
निमोनियाले सिकिस्त भए पछि झण्डै १ महिनादेखि उनी आइसियुमा भर्ना थिए । सोमवार विहान ९:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । झा विश्व हिन्दु महासंघ नेपालको स्थापना कालदेखि नै सकृय रहेका थिए । झाको पार्थिव शरीरलाई बांसबारीस्थित महासंघको कार्यालयमा राखी श्रद्धाञ्जली सभा आयोजन गरिएको थियो । उक्त अवसरमा विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका सदस्य तथा अन्य धार्मिक संघ संगठनका व्यक्तित्वहरु उपस्थित थिए । समितिका महासचिव कृष्णहरि मैनालीले महासंघ स्थापनामा झाको योगदान सराहनीय रहेको बताए । झा पञ्चातकालमा स्वास्थ्य, शिक्षा, उद्योग र वनमन्त्रीलगायतका जिम्मेवार पद सम्हाल्नु भएको थियो ।
काठमाडौंको वांसबारीस्थित विश्व हिन्दु महासंघको भवनमा श्रद्धाञ्जली अर्पण गरिए पछि उहांको पार्थिव शरीरलाई जनकपुरधाम लगिएको छ ।
जनकपुरमै उनको वैदिक विधिका साथ दाहसंस्कार गरिने उनका छोरा गिरिजानन्द झाले बताएका छन् । नेपाललाई हिन्दु राष्ट्रघोषणा गरिनुपर्ने लगायतका माग सहित झा महासंघको कार्यक्रममा सहभागी भइरहंदा विरामी पर्नु भएको थियो । उनको उपचारमा नेपाल सरकारले वेवास्ता गरेको भन्दै विश्व हिन्दु महासंघ राष्ट्रिय कार्यसमितिले घोर आपत्ति जनाएको छ । ७८ वषीय झाका एक छोरा, एक छोरी र श्रीमति छन् ।