
‘नेपाली खेलकुदले अहिलेसम्म पाएका सबैभन्दा खेलप्रेमी प्रधानमन्त्री किसुनजी नै हुन्,’ आठौं साफमा कराँतेतर्फ स्वर्ण जितेका दीपक श्रेष्ठको अनुभव छ, ‘आठौं साफमा जस्तो राम्रो तयारी अहिलेसम्म कहिले पनि भएन । पदक विजेता खेलाडीले त्यो बेला उचित पुरस्कार पनि पाए ।’
आठौं साफमा नेपालले कीर्तिमानी ३१ स्वर्ण जितेको थियो । प्रधानमन्त्रीका रूपमा भट्टराईले स्वर्णपदक विजेता खेलाडीलाई जागिरको व्यवस्था गरेका थिए र यसै परम्परा अहिलेसम्म सागमा स्वर्णपदक विजेता खेलाडीमा पनि लागू भइरहेको छ । ‘यो सबै उहाँको देन हो,’ श्रेष्ठले भने ।
जागिरसँगै भट्टराईले घडेरीको पनि घोषणा गरेका थिए । त्यसका लागि भने खेलाडीले लामो समय कुर्नु पर्यो । ‘हामीले घडेरी पाउनु अगाडि नै सरकार ढल्यो ।
पछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा घडेरीका लागि दुई किस्ता गरेर तीन लाख रुपैयाँ पायौं,’ श्रेष्ठले थपे ।
‘खडेरी नपाएपछि हामीले एकपल्ट किसुनजीलाई भेट्न गएका थियौं, त्यति बेला उहाँले ठट्यौंलीमा भन्नुभएको थियो, मेरो त आपmनो घर छैन, तिमीहरूलाई के घर दिन सक्छु ?’ श्रेष्ठले सुनाए, ‘पछि उहाँको वचन पूरा भने भयो ।’ आठौं सागमा स्वर्ण विजेता तेक्वान्दो खेलाडी दीपक विष्टसँग पनि भट्टराईबारे सम्झना ताजै छ ।
‘किसुनजीले कराँते र तेक्वान्दो खेलाडी देखेपछि अभिवादनका रूपमा हुस भन्नुहुन्थ्यो,’ विष्टले भने, ‘खेलाडीलाई यस प्रकारले अभिवादन गर्ने उहाँ पहिलो र अहिलेसम्मकै एक्लो सरकारप्रमुखका रूपमा हुनुहुन्थ्यो । उहाँले खेलाडीलाई धेरै माया गर्नु हुन्थ्यो ।’



