हेटौंडा – प्राप्त समाचार अनुसार उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुको तलव वृद्धि गर्नुपर्ने माग गर्दै माओवादी मजदुर संगठनले हेटौडा औधोगिक क्षेत्रका सम्पुर्ण उद्योगहरु मंगलवारदेखि अनश्चितकालका लागि वन्द गराएका छन ।
माओवादीले उद्योगमा कार्यरत मजदुरहरुको मासिक तलब र दैनिक ज्याला सोमवारसम्म वृद्धि नगेर उद्योग कलकारखाना अनिश्चितकाल लागि वन्द गर्ने एक साताअघि चेतावनी दिएका थिए । तोकिएको समयसम्ममा पनि तलब वृद्धि नगरेकाले उद्योग अनिश्चितका लागि वन्द गरेको अखिल नेपाल औधोगिक मजदुर संघ हेटौडाका अध्यक्ष विष्णु रानाले बताए । उनले भने, ‘तलब वृद्धि नगरेकाले वाध्य भएर उद्योग वन्द गर्नु परेको हो ।’
एमाले र काँग्रेस निकटका मजदुर संगठनहरुले तलब वृद्धि गर्नुपर्ने माग गरेपनि उद्योग वन्द गर्न नहुने वताउँदै आएका थिए । एमाले र काँग्रेस निकट मजदुरहरु केही उद्योग संचालन गर्न तम्सिएका थिए । वन्द गर्नेहरुको दवावले गर्दा उनीहरु पनि उद्योग संचालन गर्न हच्किए । मंगलवार विहान साढे ८ वजेपछि औधोगिक क्षेत्रका सवै उद्योगहरु वन्द गरिएको हेटौडा उद्योग सघका अध्यक्ष ऋषिराम घिमिरेले बताए । ‘यो राष्ट्रिय मुद्दा भएकाले यहाँका उद्योगीले मात्र तलब वढाउने र नवढाउने कुरामा मात्र सिमित छैन’ उनले भने ।
यहाँका उद्योगपति र व्यवसायीले ‘माथिको निर्णय नभएसम्म ज्याला वढाउन नसकिने भएकाले केही समय प्रतिक्षा गर्न मजदुरहरुलाई आग्रह गरेका थिए । उद्योगपति र व्यवसायीहरुको आग्रहलाई लत्याउदै माओवादी निकट मजदुर संघले औधोगिक क्षेत्र भित्रका मात्र होइन वाहिरका पनि उद्योग वन्द गराएका छन् ।
‘हामीले उद्योग वन्द नगरी दवावमुलक कार्यक्रम गर्न सञ्चालन गर्न आग्रह गर्यौ तर उनीहरुले मानेन्’ ट्रेड युनियन काँग्रेस स्वतन्त्र जिल्ला अध्यक्ष तेजवहारदुर गोदारले भने, ‘तलब वृद्धिको माग गर्नु जायज हो तर उद्योग नै वन्द गर्नु राम्रो होइन ।’
अखिल नेपाल औधोगक मजदुर संघ मकवानपुरले सोमवारसम्म पनि तलब वृद्धि नगरे उद्योग प्रतिष्ठान ठप्प पार्ने चेतावनीसहित माग पत्र पेश गरेको थियो । संघले मासिक तलब दश हजार रुपैयाँ र दैनिक ज्यालादर चार सय रुपैयाँ निर्धारण गर्नुपर्ने माग गर्दै आएका छन् । विगत तीन वर्षदेखि श्रमिकहरुको ज्यालादर वृद्धि भएको छैन ।
‘पे कमिशन वोर्डले दूई/दुई वर्षमा श्रमिकहरुको न्यूनतम् ज्यालादर तोक्नु पर्नेमा हालसम्म पनि तोकेको छैन । नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष अर्जुन ढुङ्गेलले बताए । ‘तलब बृद्धि गर्नुपर्ने मागलाई लिएर आन्दोलन हामीले पनि गर्दै आएका छौ तर अनिश्चितकालिन उद्योग वन्द गर्ने कार्यमा भने सहमति छैन’ उनले भने ।
तलब वृद्धिका लागि चरणवद्ध आन्दोलन गर्न ट्रेड युनियन कंग्रेस र ट्रेड युनियन महासंघबीच छलफल भइरहेको उनले बताए । माओवादी निकट मजदुर संघले हेटौडा औधोगिक क्षेत्रका उद्योगहरु मात्र नभइ, औधोगिक क्षेत्रवाहिरका युनिलिभरलगायतका उद्योगहरु वन्द गराएका छन । हेटौडा औधोगिक क्षेत्रका ५७ उद्योगहरु एक दिन वन्द हुँदा ८ करोड रुपैया भन्दावढी नोक्सानी हुने हेटौडा औधोगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । हेटौडा औधोगिक क्षेत्र भित्र कर्मचारी र कामदार गरी ५ हजार कार्यरत छन । वसामाडी गाविस-५ रहेको वहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेड एक दिन वन्द हुँदा ४० लाख रुपैया नोक्सानी हुने उद्योग व्यवस्थापनले जनाएको छ ।



